तौलिहवा समाचारदाता
तौलिहवा (कपिलवस्तु), पुस २३ गते । कपिलवस्तुमा बसोबास गर्ने नेटुवा समुदायले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा समावेश गर्न सरकारसँग माग गरेको छ । अल्पसङ्ख्यक सूचीमा नपरेकै कारण सामाजिक सुरक्षा भत्तालगायत सुविधाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ । नेटुवा समुदायका अनुसार पत्थरकट्टा जातिका व्यक्ति अल्पसङ्ख्यक सूचीमा सूचीकृत भई मासिक सामाजिक सुरक्षा भत्ता पाउँदै आए पनि उनीहरू भने दसकौँदेखि सोही सुविधाबाट वञ्चित छन् । तीन दशकदेखि विभिन्न सरकार र निकायसमक्ष माग राख्दै आए पनि हालसम्म सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।
मायादेवी गाउँपालिका–२, अभिरावका पण्डित नेटुवाले पटक पटक काठमाडौँ पुगेर माग राख्दा राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “लोपोन्मुख वा अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक भयो तर राज्यले अझै सुनेको छैन ।” शुद्धोधन गाउँपालिका–१, प्रगतिनगरमा सुकुमवासी बस्तीमा १४ घरधुरीमा दुई सयभन्दा बढी नेटुवा समुदायको बसोबास छ । उनीहरूसँग नेपाली नागरिकताको प्रमाणपत्रबाहेक अन्य कुनै सम्पत्ति वा पहुँच छैन । गाँस, बास र कपासको समस्यामै दैनिकी बितिरहेको स्थानीय बताउँछन् ।
स्थानीय महेन्द्र नेटुवाका अनुसार आफूहरूभन्दा ‘उच्च’ मानिने पत्थरकट्टा जातिलाई राज्यले अल्पसङ्ख्यक सूचीमा राखेर सुविधा दिँदा पनि नेटुवा भने सूचीबाहिर परेका छन् । उहाँले भन्नुभयो, “थर नेटुवा भएको नागरिकता बनाए पनि हामीलाई पत्थरकट्टाभन्दा तल्लो जाति भनेर हेर्ने गरिन्छ ।”
स्थानीय लक्ष्मी नेटुवाले जातीय विभेद अझै गहिरो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले छोएको पानीसमेत पत्थरकट्टाले नखाने अवस्था छ । राज्यले उनीहरूलाई लोपोन्मुख सूचीमा राखेर सुविधा दिएको छ तर हामीलाई किन दिइँदैन ?” बर्सौंदेखि नेताहरूलाई भोट दिए पनि जितेपछि फर्केर नआएको उहाँको गुनासो छ ।
स्थानीय नेतराम नेटुवाले प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयसम्म पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै उपलब्धि नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पनि यही देशका नागरिक हौँ तर नागरिकताबाहेक केही छैन ।” उहाँले नेपाली नागरिक हुँदाहुँदै पनि भारतीय भनेर हेपिने गरेको पीडा पनि सुनाउनुभयो । हाल अल्पसङ्ख्यक सूचीमा सूचीकृत पत्थरकट्टा जातिका प्रत्येक व्यक्तिले मासिक चार हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । सर्प समात्ने र सर्प मारेर खाने समुदायका रूपमा परिचित नेटुवा समुदाय शिक्षा, स्वास्थ्य र रोजगारीबाट समेत वञ्चित छन् । धेरैको दैनिकी भिक्षा मागेर गुजारा गर्नुपर्ने अवस्थामा पुगेको छ ।
नेटुवा समुदायको जीविकोपार्जन सुधारका लागि कपिलवस्तुमा सर्प उद्धारसम्बन्धी सिप विकास तालिम तथा लोकल ब्यान्ड बाजा बजाउने तालिम सञ्चालन गरिएको थियो । बिएमजेड र डब्लुएचएचको आर्थिक तथा प्राविधिक सहयोगमा फरवार्ड नेपाल र कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रद्वारा सञ्चालित ‘सुधारिएको खाद्य प्रणाली परियोजना’ अन्तर्गत तालिम दिइएको हो । कपिलवस्तु जिल्लामा करिब तीन सय घरधुरी नेटुवा समुदायको बसोबास रहेको अनुमान छ । कृष्णनगर नगरपालिका–बहादुरगन्ज, शुद्धोधन गाउँपालिका–प्रगतिनगर, मायादेवी गाउँपालिका–अभिराव तथा यशोधरा गाउँपालिका–वसन्तपुरलगायत क्षेत्रमा उनीहरूको बसोबास छ ।
नेटुवा समुदायले राज्यसँग आफ्नो पहिचान सुनिश्चित गर्दै अल्पसङ्ख्यक जातिको सूचीमा समावेश गरी सामाजिक न्याय र समान पहुँचको माग गरेका छन् ।