हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस २३ । मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र सुरक्षाका लागि अनुगमनलाई तीव्रता दिइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहितको सुरक्षा समिति र निर्वाचन कार्यालयको टोलीले उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका १६ मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै बस्ती सुनसान रहेको उपल्लो मुस्ताङको लोमान्थाङ गापा–२, छोसेरस्थित दिव्यदीप माविसहित ६ वटा र लो–घेकर दामोदरकुण्ड गापाका १० मतदानस्थलको निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।
जिल्ला सुरक्षा समितिले जिल्लाका ५ वटै स्थानीय तहमा रहेका मतदान स्थलको निरीक्षण तथा अवस्था र सुरक्षा योजना निर्माणका लागि समेत थप छलफलसहित योजना बनाइएको प्रजिअ शर्माको भनाइ छ । सोही अवसरमा अनुगमनसँगै स्थानीयवासीसँग तथा गाउँमा रहेका स्थानीय जनप्रतिनिधिसँग समेत वस्तुस्थितिका बारेमा जानकारी समेत गराउने गरिएको छ । मतदान स्थलको अनुगमनमा प्रहरी नायब उपरीक्षक छिरिङ कृप्पा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख विष्णुहरि पण्डित, निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवाली र कोष नियन्त्रण अनुगमन अधिकृत शालिकराम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा पूरा गर्ने, मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन आवश्यक सुरक्षा योजना समेत तयार गरिएको छ । जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार तीन सय २८ रहेको छ ।