ललित बसेल
सुर्खेत (लेकबेँसी), पुस २३ गते । कर्णाली प्रदेशमा पहाडी जिल्लाका जङ्गल तथा नदी किनारमा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई चोटपटक लागेमा त्यसको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सिकाउन थालिएको छ । राउटे जङ्गलमा घुमिरहने, बस्ती सारिरहने, जङ्गली जनावरको सिकार गर्ने, मादक पदार्थ सेवनले चोटपटक लागेर घाइते हुन थालेपछि सोसेक नेपाल दैलेखले नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशसँग समन्वय गरी राउटेलाई प्राथमिक उपचार कसरी गर्ने भनी सिकाउन थालिएको हो ।
अहिले राउटे सुर्खेतको लेकबेँसी नगरपालिका–७, पुल्टारमा बस्दै आएका छन् । उनीहरूलाई सोही ठाउँमै प्राथमिक उपचार कसरी गर्ने भनी मङ्गलबारदेखि तीनदिने तालिम दिन थालिएको छ । तालिममा १५ राउटे युवकयुवतीका साथै लेकबेँसी नगरपालिका र दैलेखको गुराँस गाउँपालिकाका कर्मचारी पनि छन् । पछिल्लो समय राउटे घाइते हुने क्रम बढेको छ । खानपानको समस्याले राउटे बालबालिका तथा महिला बिरामी हुने गरेका छन् । घाइते तथा बिरामी भएपछि तत्काल प्राथमिक उपचार गरी स्वास्थ्य संस्थासम्म लैजान सहज होस् भन्ने उद्देश्यले राउटेलाई प्राथमिक उपचारको तालिम दिनु परेको राउटेसँग काम गर्दै आएको सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो ।
यहाँ राउटेको जनसङ्ख्या १३३ रहेको छ । तीमध्ये पुरुष तथा बालक राउटे कुनै न कुनै रूपमा घाइते तथा चोटयुक्त छन् । राउटेलाई तालिम दिएर प्राथमिक उपचार कसरी गर्ने भनी सिकाउने र पछि उनीहरूले आफ्नो समुदायका अन्य सदस्यलाई पनि त्यही अनुसार सिकाउन सक्ने बनाउन तालिमको आयोजना गरिएको उहाँले जनाउनुभयो । तीन दिनसम्म राउटेलाई हातखुट्टा भाँच्चिएमा, मर्किएमा, हातखुट्टामा चोटपटक लागेमा कसरी प्राथमिक उपचार गर्ने भन्ने कुरा सिकाइने उहाँको भनाइ छ ।
विगतमा वनका जडीबुटीबाहेक अन्य औषधी नगर्ने र औषधी नखाने राउटे पछिल्लो समय बिरामी भएमा उपचार खोज्ने, औषधी खोज्न थालेपछि प्राथमिक उपचारबारेमा पनि सिकाउन लागिएको सोसेक नेपालका कार्यकारी निर्देशक थापाले बताउनुभयो । यस्तै कर्णाली प्रदेशमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्राथमिक उपचारको तालिम राउटेका लागि लाभदायक हुने बताउनुभयो । उहाँले जङ्गलमा हिँड्ने क्रममा, सिकार गर्ने क्रममा धेरै जसो राउटे घाइते हुने भएकोले प्राथमिक उपचार सिक्दा उनीहरूलाई लाभ हुने उल्लेख गर्नुभयो । विगतको तुलनामा राउटे समाजउन्मुख बन्दै गएका हुँदा उनीहरूको परम्परागत सम्पदालाई पनि कायमै राख्नुपर्ने सुझाव उहाँले दिनुभयो । कर्णाली प्रदेश सरकारले राउटेको सिप विकास, उनीहरूले उत्पादन गरेको सामग्रीको बजारीकरण गर्ने कार्यक्रम अगाडि सारेको जानकारी दिनुभयो ।
राउटेलाई आफ्नो स्थायी बासिन्दा घोषणा गरेको दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटेले पछिल्लो समय आधुनिक उपचार पद्धतिलाई स्वीकार गर्न थालेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले जङ्गलमा बस्दा दुर्घटना भई घाइते तथा बिरामी हुन थालेपछि प्राथमिक उपचारको तालिममा सिप सिकेर अन्य सदस्यलाई पनि सिकाउन आग्रह गर्नुभयो । राउटे युवा दीपक शाहीले आफूहरू धेरै जसो सिकार खेल्ने क्रममा र बस्ती सर्ने क्रममा घाइते हुने गरेको बताउनुभयो । उहाँले तालिममा सिकेर आफ्ना अन्य सदस्यलाई पनि सिकाउने भन्दै राउटेलाई चोटपटक लाग्न नदिने तालिम रमाइलो भएको उल्लेख गर्नुभयो ।