• २४ पुस २०८२, बिहिबार

सिफारिस सूचीमा पुरानै अनुहार

blog

दैलेख समाचारदाता

दैलेख, पुस २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दैलेखका रहेका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका दलले गरेको सिफारिस सूचीमा पुरानै अनुहारको दबदबा रहेको पाइएको छ । 

दलहरूले सार्वजनिक रूपमा नयाँ नेतृत्व र परिवर्तनको कुरा गरे पनि सिफारिस सूची हेर्दा भने पुरानै अनुहार, अघिल्लो निर्वाचनमा पराजित, बागी बनेका तथा फ्लोर क्रसको इतिहास बोकेका नेता नै हाबी देखिएका छन् । कांग्रेसबाट दैलेख निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ १३ जना उम्मेदवारीको आकाङ्क्षी देखिएका छन् । प्रत्यक्षतर्फ खेमराज केसी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा रहेका छन् । सिफारिस भएका उम्मेदवारमध्ये देवेन्द्रबहादुर थापा, पदमबहादुर मल्ल र सुशील देउजाबाहेक अन्य सबै यसअघि स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भइसकेका छन् । 

त्यस्तै दैलेख निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ दिक्पालकुमार शाही, सीताकुमारी राना, एकेन्द्रबहादुर पन्त, मधुविक्रम खनाल र रञ्जनाकुमारी शाही सिफारिस हुनुभएको थियो । दिक्पालकुमार शाही र सीताकुमारी राना यसअघि प्रतिनिधि सभा सदस्य भइसक्नुभएको छ । मधुविक्रम खनाल २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ (क) बाट नेकपा (एमाले) का सुशीलकुमार थापासँग पराजित हुनुभएको थियो भने एकेन्द्रबहादुर पन्त प्रत्येक निर्वाचनमा सिफारिस हुँदै आएका उम्मेदवार हुनुहुन्छ । रञ्जनाकुमारी शाही भने पहिलो पटक उम्मेदवारका रूपमा सिफारिस हुनुभएको हो । 

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले प्रत्यक्षतर्फ सिफारिस गरेका उम्मेदवारको सूची हेर्दा पुरानै अनुहारको दबदबा भएको देखिन्छ । अघिल्लो निर्वाचनमा बागी बनेका, पराजित भएका तथा फ्लोर क्रसको इतिहास बोकेका नेताकै हालीमुहाली हुँदा उनीहरू नै सिफारिस भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट अमरबहादुर थापा, प्रेमबहादुर कटुवाल, विद्याप्रसाद ढकाल, प्रकाश अधिकारी र रमा रेग्मीको नाम सिफारिस गरिएको छ । थापा निवर्तमान प्रतिनिधि सभा सदस्य भइसक्नुभएको छ भने प्रेम कटुवाल यसअघिको प्रदेश सभा सदस्यको निर्वाचनमा प्रदेश दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) मा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भइसक्नुभएको छ । 

नयाँ सिफारिस गरिएका युवाबाट प्रकाश अधिकारी, महिलाबाट रमा रेग्मी, विद्याप्रसाद ढकाल भने पहिलो पटक प्रत्यक्षका लागि सिफारिस हुनुभएको हो । दैलेख निर्वाचन क्षेत्र नं. २ बाट योगेन्द्रबहादुर शाही, उपेन्द्रकुमार रावत, तर्कबहादुर शाही, लक्ष्मीकमल न्यौपाने, नवराज योगी, हर्क थापा र रमा कार्की सिफारिस भएका छन् । योगेन्द्रबहादुर शाही २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा एमालेका विनोदकुमार शाहसँग पराजित हुनुभएको थियो । उपेन्द्र रावत पहिला पनि सिफारिस भए पनि टिकट नपाएका नेता हुनुहुन्छ भने अन्य सबै पहिलो पटक सिफारिस हुनुभएको हो । 

नेकपा (एमाले) ले सिफारिस गरेको सूची अनुसार पुरानै अनुहार सिफारिस गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट भने एमालेले पूर्वप्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा, तेजबहादुर चन्द, पूर्वनगरप्रमुख रत्नबहादुर खड्का, नन्दकिशोर बस्नेत र महिलातर्फ लीला बिसीको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकामध्ये रवीन्द्रराज शर्मा पूर्वप्रतिनिधि सभा सदस्य हुनुहुन्छ भने रत्नबहादुर खड्का, नन्दकिशोर बस्नेत पहिलो पटक सिफारिस हुनुभएको हो । तेजबहादुर चन्द २०७० सालको संविधान सभा सदस्य पदमा निर्वाचन पराजित हुनुभएको थियो । 

प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसका लागि केन्द्रीय सदस्य विष्णु रिजाल, पूर्वपोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य लक्ष्मीप्रसाद पोखरेल, कर्णाली प्रदेश सभाका निवर्तमान सभामुख राजबहादुर शाही र पूर्वसंविधान सभा सदस्य राजबहादुर बुढाबिच उम्मेदवारीका लागि तानातान देखिएको थियो । सहमति नभएपछि निर्वाचन गर्दा सबैभन्दा बढी विष्णु रिजालले ६७ मत, लक्ष्मीप्रसाद पोखरेलले ६६, राजबहादुर शाहीले ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गर्नुभएको छ । क्षेत्रीय कमिटीका अनुसार पहिलो र दोस्रो मत प्राप्त गर्ने विष्णु रिजाल र लक्ष्मीप्रसाद पोखरेल तथा महिलातर्फ अम्बिका बोहोरालाई जिल्ला कमिटीमार्फत केन्द्रमा सिफारिस गरिएको छ ।