• २४ पुस २०८२, बिहिबार

पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी

blog

चौमाला समाचारदाता

चौमाला (कैलाली), पुस २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पुरुषको भन्दा महिला मतदाताको सङ्ख्या बढी देखिएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या आठ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या आठ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिनुभयो । त्यस्तै १८ जना अन्य मतदाता रहेका छन् । 

पुरुषको भन्दा महिलाको सङ्ख्या १२ हजार ४०२ ले बढी छन् । प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशमा १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन् । २०७९ को निर्वाचनमा १६ लाख ६९ हजार ४११ मतदाता थिए । हाल प्रदेशमा ४७ हजार २४९ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् । यस्तै डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र कायम रहेको जनाइएको छ ।