• २४ पुस २०८२, बिहिबार

‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’

blog

देवदह (रुपन्देही),  पुस २३ गते ।  आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ ।  कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले  अभियान सञ्चालन गरिइएको हो ।

कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो । कार्यालयका अनुसार दाखिला हुन बाँकी करिब रु एक अर्ब २५ करोड राजस्व सङ्कलनका लागि यो प्रयास थालिएको हो ।

विसं २०८२ कात्तिकदेखि यो अभियान सञ्चालन गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताउनुभयो । “सुरुमा करदाताको कारोबारको ठेगानामा राजस्व तथा कर विवरण बुझाउन अनुरोध गर्दै पत्राचार गरिएको छ । त्यसपछि उहाँहरूको घर–ठेगानामा पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो, “ती सबै करदाताको मोबाइलमा म्यासेज (सन्देश) पनि पठाएका छौँ ।” प्रत्येक करदातालाई टेलिफोनमार्फत पनि सम्पर्क गरिएको छ । कार्यालयले स्रोत व्यक्ति ९फोकलपर्सन० तोकेरै ‘फलोअप’ गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि मूल्य अभिवृद्धि कर, आय विवरण र अन्तःशुल्क विवरण नबुझाउने करदातालाई पनि विवरण बुझाउन अनुरोध गर्दै सूचना पठाएको छ । प्रमुख कर अधिकृत पोख्रेलका अनुसार यसका लागि तीन जना कर्मचारीलाई ‘डेडिकेटेड’ रूपमा खटाइएको छ ।

“प्रत्येक करदातालाई एसएमएस र टेलिफोनमार्फत जानकारी गराइएको छ, त्यस्तै सम्बन्धित पालिका, वडा कार्यालयमा करदाताको विवरण बुझाउन अनुरोध गर्दै सूचना टाँस गरिएको छ । यसका साथै स्थानीय तहका सामाजिक सञ्जाल (फेसबुक पेज) र आन्तरिक राजस्व कार्यालयको फेसबुक पेजमा पनि यो सूचना राखिएको छ । करदातालाई कार्यालयसम्म आउनका लागि जानकारी गराइदिन स्थानीय तहका जनप्रतिनिधिलाई पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, कार्यालय प्रमुखहरूको मासिक बैठकमार्फत पनि यो सूचना प्रवाह गरिदिन आग्रह गरिएको छ । हालसम्म मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताको सङ्ख्या तीन हजार ६०० रहेको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । विसं २०८२ पुस मसान्तभित्र मूल्य अभिवृद्धि विवरण, मूल्य अभिवृद्धि कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाएमा अन्य जरिवाना र थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) सबै मिनाहा हुने कर अधिकृत गौरव पाण्डेले बताउनुभयो । अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने कर अधिकृत पाण्डेले जानकारी दिनुभयो । पुस मसान्तभित्रमा विवरण बुझाएर तथा राजस्व दाखिला गरी छुटको लाभ लिन उहाँले अनुरोध गर्नुभयो ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा आन्तरिक राजस्व विभागले रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार सङ्कलन गर्ने लक्ष्य दिएकामा कार्यालयले लक्ष्यको १२१।१ प्रतिशत अर्थात् रु छ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो ।

कार्यालयका अनुसार गत आव २०८१÷८२ को सोही अवधिमा कार्यालयले रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्षको सोही अवधिको तुलना गर्दा अहिले राजस्व सङ्कलन ४४.२ प्रतिशतले वृद्धि भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार अर्थतन्त्रका परिसूचकमा देखिएको सुधार, आर्थिक गतिविधिमा भएको वृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, वक्यौता असुलीमा तीव्रता, बजेटमा व्यवस्था भएका छुट सुविधाको कार्यान्वयन, परिणाममुखी र प्रभावकारी करदाता शिक्षा, करदातामैत्री सेवा प्रवाह र नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्ने र खरिद गर्नेमाथिको अनुसन्धान तथा कर निर्धारण र कर परिपालनामा देखिएको करदाताको उत्साहका कारण कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् । यो कार्यालयको कार्यक्षेत्रमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ तथा ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी गाउँपालिका र शुद्धोदन गाउँपालिकाको वडा नं ३ र नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० जिल्ला पर्छ । रासस