• २० वैशाख २०८३, आइतबार

रुरुक्षेत्रमा लालपुर्जा वितरण

blog

लालपुर्जा वितरण गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस २३ गते ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा भूमिहीन दलित एक जना र अव्यवस्थित बसोवासी १४ जना गरी कुल १५ जनाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ । दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा पहिला छत्रकोट गाउँपालिकाबाट लालपुर्जा वितरणको कार्य सुरु गरिएको थियो । यहाँ छत्रकोट गाउँपालिकाको कार्यालय र १७ स्थानीय गरी पहिलो चरणमा १८ वटा लालपुर्जा वितरण गएिको बताइएको छ ।

भूमि समस्या समाधान आयोगको पुस ९ गतेको पत्रानुसार यस जिल्ला समितिले आयोगको काम कारबाही सुचारु गरी रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा पहिलो चरणमा १५ जनालाई लालपुर्जा हस्तान्तरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य पूर्ण केसीले जानकारी दिनु भयो । यस गाउँपालिका भित्र भूमिहीन दलित ११ जना, भूमिहीन सकुम्वासी ३१ जना र अव्यवस्थित बसोवासीहरू २७४ जना रहेका छन् ।

जसमा भूमिहीन दलित दुई जना, भूमिहीन सकुम्वासी एक जना र अव्यवस्थित बसोवासीहरू ६१ जनाको जग्गा व्यवस्थापनका लागि नाप जाँच भएको छ । पुस मसान्तभित्र मदाने गाउँपालिका र रेसुङ्गा नगरपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने गरी तयारी भइरहेको छ । विस्तारै सबै लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने गरी काम भएको बताइएको छ ।

जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दिनेश पन्थी, आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, केन्द्रीय विज्ञ सदस्यद्वय डा. जगतबहादुर बस्नेत, टेक बहादुर शाह, भूमि समस्या समाधान आयोग गुल्मीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।