बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), पुस २३ गते । कञ्चनपुरमा चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म एक हजार १८ महिला तथा किशोरीले गर्भपतन गराएका छन् ।
जिल्लास्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका तथ्याङ् अनुसार, पछिल्लो पाँच महिनामा २० वर्ष कम उमेर समूहका ३० जना र २० वर्षमाथिका ९८८ गरेर एक हजार १८ महिला तथा किशोरीले गर्भपतन सेवा लिएका हुन् ।
महाकाली प्रादेशिक अस्पताल, परिवार नियोजन सङ्घ, दोधारा चाँदनी अस्पताल, कृष्णपुर स्वास्थ्य चौकीलगायत २३ अस्पतालमा सो सङ्ख्यामा महिलाले गर्भपतन सेवा लिएका हुन् ।
पछिल्लो पाँच महिनामा दुई हजार ९७२ महिलाले गर्भावस्थाको परीक्षण गराएकोमा दुई हजार ४७२ महिलाले शिशु जन्माएका छन् भने पाँच सय महिला तथा किशोरीले भने गर्भ जाँचबिनै गर्भपतन गराएको पाइएको हो ।
चालु आवको साउन महिनामा २० वर्षमुनिका ५३ महिला र २० वर्ष वा सोभन्दामाथिका ५९४ गरी ६४७ महिलाले गर्भ जाँच गराएकोमा ५३७ महिलाले बच्चा जन्माएका थिए । जसमध्ये साउनमा २० वर्षमुनिका २० जनाले औषधी सेवन गरेर गर्भपतन गराएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।
यसै गरी साउन महिनामा २१७ महिला तथा किशोरीले गर्भपतन गराएको उहाँले बताउनुभयो । भदौ महिनामा ८७ जनाले गर्भपतन गराउनुभएको छ । असोज महिनामा २० वर्षमुनिका एक किशोरी र २० वर्षमाथिका १३५ महिलाले जिल्लाका अस्पतालबाट औषधी खाएर गर्भपात गरेका हुन् भने २१ जना महिलाले शल्यक्रिया गरेर गर्भपतन गराएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताउनुभयो ।
त्यस्तै कात्तिक महिनामा २०२ किशोरी तथा महिलाले गर्भपात गराउनुभएको छ । जसमध्ये २० वर्षमुनिका दुई जना र २० वा सोभन्दाबढी उमेरका १८७ महिलाले औषधी सेवन गरेर र १३ जना महिलाले शल्यक्रिया गरेर गर्भपात गराएका छन् । मङ्सिर महिनामा २० वर्षभन्दा कम उमेरका १ किशोरी र २० वर्षमाथिका २३४ महिलाले गर्भपात गराउनुभएको उहाँले जानकारी दिनुभयो । कञ्चनपुरमा चालु आवको मङ्सिर महिनासम्म एक हजार १८ महिला तथा किशोरीले गर्भपात गराउनुभएको छ भने आव २०८१ र ०८२ मा दुई हजार ८९९ महिला तथा किशोरीले गर्भपतन सेवा लिएका छन् ।
गर्भपतन अधिकारको विषय भएको तर २० वर्षभन्दा कम उमेर समूहमै विवाह गर्दा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । एकातिर बढ्दो बालविवाहलाई समेत न्यूनीकरण गर्नु जरुरी रहेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र सिंह रावल बताउनुहुन्छ । जसले कम उमेरमै गर्भ रहने र पछि स्वास्थ्यमा जटिल समस्या देखिने गरेकाले यसमा अभिभावक, सरोकारवाला सबै सचेत रहन जरुरी रहेको उहाँले बताउनुभयो ।
कलेज अध्ययन गर्दाका बखत कम उमेर समूहमै शारीरिक सम्बन्ध राख्दा जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दो क्रममा रहेकाले सुरक्षित तरिका अपनाउन तथा विवाहपछि मात्रै आवश्यकता अनुसार गर्भधारण गर्न उहाँले सुझाव दिनुभयो ।
४८ नवजात शिशुको मृत्यु
कञ्चनपुरमा गर्भपात गराउने तथ्याङ्क डरलाग्दो अवस्थामा रहेको छ, भने शिशु मृत्युदर पनि भयावह अवस्थामा छ । गत आवमा जिल्लामा ४८ नवजात शिशुले ज्यान गुमाएका छन् । जसमध्ये, गत आवमा जिल्लामा आठ मरेका शिशु जन्मिएका छन् । यसै गरी २६ नवजात शिशुको जन्मनेबित्तिकै मृत्यु भएको छ, भने जन्मेको २८ दिनभित्र १४ जना शिशुले ज्यान गुमाएको जिल्लास्थित सरकारी अस्पतालहरूको तथ्याङ्कले देखाएको छ ।
गत आवमा भीमदत्त नगरपालिकामा जन्मनेबितिक्कै २० शिशुले ज्यान गुमाएका थिए । यसै गरेर भीमदत्तमा छ मरेका शिशु जन्मिएका थिए भने छ शिशुले जन्मेको २८ दिनमा ज्यान गुमाएका हुन् । यसै गरी दोधारा चाँदनी नगरपालिकामा तीन शिशु जन्मनेबित्तिक्कै मरेका छन् भने पुनर्वासमा एक शिशु जन्मनेबित्तिक्कै र चार शिशुले जन्मेको २८ दिनमा ज्यान गुमाएका छन् । शुक्लाफाँटा नगरपालिकामा गत आवमा एक शिशुको मरेको अवस्थामा जन्म भएको थियो । यसै गरेर एक शिशुको जन्मनेबित्तिकै मृत्यु भयो भने दुई शिशुको २८ दिनभित्र मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताउनुभयो ।