• २४ पुस २०८२, बिहिबार

निर्यात प्रोत्साहन कार्यविधि अन्तिम चरणमा

blog

गोरखापत्र समाचारदाता             

काठमाडौँ, पुस २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विदेशी मुद्रा भित्र्याउने र व्यापार घाटा कम गर्ने निर्यात व्यापार रहेकाले यसलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल निर्यात परिषद्ले  मङ्गलबार आयोजना गरेको १० औँ निर्यात दिवसलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिने बताउनुभएको हो । 

निर्यात प्रवर्धन गर्न सरकारले प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको बताउँदै उहाँले निर्यातमा देखिएका प्रक्रियागत र कार्यविधिगत समस्यालाई सहजीकरण गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । 

निर्यातलाई प्रोत्साहन गर्न कार्यविधि तयार गरी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । व्यापार प्रवर्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यात बढाउन नयाँ उत्पादनको विकाससँगै बजार पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निर्यात बढाउन उत्पादन र बजारको विविधीकरण गर्नु आवश्यक रहेको बताउनुभयो । सामानको गुणस्तर प्रमाणीकरणको समस्या र लजिस्टिक कस्ट महँगो हुँदा निर्यात बढाउन नसकिएको उहाँले स्पष्ट पार्नुभयो । आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्ने नीति ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले दुई खर्बको निर्यात व्यापारलाई बढाएर दोब्बर पार्नु आवश्यक रहेको बताउनुभयो । निर्यात बढाउन वस्तु उत्पादनसँगै नयाँ बजार खोज्नुपर्ने बताउँदै उहाँले सरकार र निजी व्यवसायी मिलेर अगाडि बढे व्यापार मात्र नभई आर्थिक रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो । सहुलियत अनुदान दिएर साना साना व्यवसायीको उत्पादन सङ्कलन गरी निर्यात बढाउन सकिने उहाँको भनाइ छ  । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले देशको अर्थतन्त्रलाई स्थिरता दिनुका साथै रोजगारी सिर्जना गर्न निर्यात प्रवर्धन गर्नु आवश्यक रहेको बताउनुभयो ।

परिषद्का निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठले पछिल्लो समय मुलुक वस्तु निर्यातभन्दा मान्छे निर्यातमा केन्द्रित हुँदा व्यापार ‌घाटा बढ्दै गएको बताउनुभयो  ।   स्वदेशी उत्पादनको  लागत  महँगो  हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन  भएको उहाँको भनाइ थियो । 

सरकारले निर्यातमा दिँदै आएको पाँच अर्ब नगद अनुदान रोकिएकाले तत्काल उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो । त्यस्तो अनुदान उद्योगीसँगै निर्यातकर्तालाई उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । 

हाल सीमित वस्तु मात्र निर्यात भइरहेकाले नयाँ नयाँ वस्तु विकास गरेर निर्यात बढाउनुपर्ने उहाँको भनाइ छ । बन्द रहेका उद्योगहरू रुग्ण उद्योग घोषणा गरी कसरी सञ्चालन गर्ने भनेर नीति ल्याउन आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले हस्तकलाका सामान निर्यात गरेर राजस्व सङ्कलन गर्नुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गरेकाले सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको जानकारी दिनुभयो । परिषद्को २८ औँ साधारण सभाले डा. रामशरण थपलियाको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । 

सो अवसरमा आर्थिक वर्ष २०८२/८३ मा निर्यातमा योगदान पु‍¥याउने व्यवसायीलाई सम्मान गरिएको थियो ।