रमेश विश्वकर्मा
गुल्मी, पुस २३ गते । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ । यस जिल्लाको मुसिकोट नगरपालिकाको समन्वयमा वामीटक्सारमा भएको शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहमा सहजीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै यहाँका मतदान स्थल अनुगमन तथा निरीक्षणमा उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । सबैलाई ढुक्क भएर निर्वाचनमा सरिक हुन आग्रह गर्नुहुँदै उहाँले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सबै पक्षलाई अपिल गर्नुभयो । निर्वाचनलाई लक्षित गरी यस जिल्लामा शान्ति सुरक्षामा विशेष जोड दिई निर्वाचन सुरक्षा योजना बनाएर लागू गरिएको बताउनुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि जिल्लाभर सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
त्यसैगरी जिल्ला सुरक्षा समिति गुल्मीले निर्वाचन सुरक्षा योजना लागु गर्दै जिल्लाका मतदान स्थलको अनुगमन कार्यलाई तीव्रता दिएको छ । मुसिकोट नगरपालिकाअन्तर्गतका केही मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्नुका साथै स्थानीयसँग साक्षात्कार समेत गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनलाई सफल बनाउन निरन्तर काम गरिरहेको छ । मतदान स्थलहरुको सूक्ष्म रुपले अध्ययन गर्दै सुरक्षा योजना तयार पारिएको उहाँले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम राख्नुका साथै जनतालाई सुरक्षा प्रत्याभूति दिलाउन प्रशासन कार्यालयले स्थानीय तहसँग सहकार्य थालेको छ ।
यहाँको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि यस जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गर्न थालिएको हो । शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न स्थानीय सरकार, नागरिक समाज, राजनीतिक दल आदिको ठूलो भूमिका रहने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । सबै मिलेर काम गर्दा अपराध नियन्त्रणमा सफलता मिल्नुका साथै नागरिकले पनि शान्ति सुरक्षाको महसुस गर्ने उहाँको भनाइ छ। अपराधका घटना घट्न नदिने तर्फ सबै सचेत आवश्यक रहेको भन्दै उहाँले सबैमा सकारात्मक सोचको विकास जरुरी बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट जिल्लाको समग्र अपराधको अवस्था र लागू औषध नियन्त्रणका विषयमा जानकारी गराइएको छ । स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न प्रशासन र प्रहरीसँग निरन्तर सहकार्य जरुरी रहेको बताइएको छ । कार्यक्रममा मुसिकोट नगरपालिकाका जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, विद्यालयका प्रअ तथा शिक्षक, नागरिक समाजका प्रतिनिधिलगायतको उपस्थिति थियो ।