पाटन (ललितपुर), पुस २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतनको मङ्गलबार अवलोकन गर्नुका साथै ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया गर्नुभएको छ ।
ज्यापू समाज यलका पदाधिकारीको निमन्त्रणामा बागडोल पुग्नुभएका मन्त्री खरेलले ज्येष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको काम प्रशंसनीय भएको बताउनुभयो । “ज्येष्ठ नागरिकको व्यवस्थापन सरकारले गर्नु पर्छ, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि अत्यन्तै प्रशंसनीय छ, यसको निरन्तरताका लागि सरकारले सहयोग र समन्वय गर्ने काम गर्छ,” उहाँले भन्नुभयो ।
समयक्रमसँगै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले सबैको खुसीका लागि सरकारले सक्दो काम गर्ने बताउनुभयो । “हामीले गर्ने सहयोग गर्छौं । नेवार समुदायको सम्पदा, संस्कृति र सभ्यतालाई माथि उठाउन लागिपरेका छौँ, समग्र नेवार समुदायको संस्कृति र परम्पराको विषयमा प्रचारप्रसार गर्न ‘सम्पदा यात्रा’ कार्यक्रम नेपाल टेलिभिजनमार्फत सञ्चालन गर्ने तयारी छ,” मन्त्री खरेलले भन्नुभयो । ज्येष्ठ नागरिक आनन्द निकेतनको व्यवस्थापन एवं सञ्चालनका लागि न्यूनतम १० वर्षको योजना बनाएर काम गर्न उहाँले आग्रह गर्नुभयो । ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ज्येष्ठ नागरिक आनन्द निकेतनले अहिले २५ जनाको सेवा गरिरहेको जानकारी गराउँदै भविष्यमा थप ज्येष्ठ नागरिकको सेवा गर्ने योजना रहेको बताउनुभयो ।
समृद्धिको आधार सूचना र प्रविधि
यसैबिच मन्त्री खरेलले मुलुकको विकास र समृद्धिको आधार सूचना र प्रविधि रहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तर्गत ‘एआई पोलिसी एन्ड इन्डस्ट्री ग्रोथ’ सम्बन्धी छलफलमा मन्त्री खरेलले देशलाई सुशासनको मार्गमा लैजाने एक मात्र उपाय डिजिटल नेपालको रोडम्याप भएको बताउनुभयो । डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन लागिरहेको भन्दै उहाँले आफ्नै कार्यकालमा रोडम्याप ल्याउने बताउनुभयो । रोडम्यापका लागि सुझाव बुँदागत रूपमा दिन आग्रह गर्दै उहाँले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्वाह गर्न सम्पर्क मन्त्रालयका रूपमा सञ्चार मन्त्रालयले भूमिका खेल्ने र सबै अल्झन हटाउने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले डिजिटल साक्षरता र साइबर सुरक्षामा लगानी बढाउँदै सुशासनतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । डिजिटल नेपाल फ्रेमवर्कले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा विशेष ध्यान दिएर नीति निर्माण र कार्यान्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सहभागी सूचना प्रविधि क्षेत्रका प्रतिनिधिले नयाँ नीति बनाउनुभन्दा बनेका नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो ।