• २४ पुस २०८२, बिहिबार

नेकपाले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २३ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो मतभार अनुसारको सिट सङ्ख्या पाए प्रमुख दलसँग सहकार्य गर्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तालमेल हुँदा नेकपाले कम्तीमा चार सिट पाउनुपर्ने दाबी गरेको छ ।

बैठकले सङ्गठनात्मक संरचना निर्माण गरेर पुस २९ गते केन्द्रीय कमिटीको घोषणा गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । नेकपा माओवादी, नेकपा (एकीकृत समावादी) सहित एक दर्जनभन्दा बढी पार्टी मिलेर नेकपा गठन भएको थियो । ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति र करिब दुई हजार पाँच सय जनाको कमिटी बनाउने विषयमा छलफल भए पनि अन्तिम टुङ्गो लगाउने काम संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ ।  

नेकपाका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशको मतभार हेर्दा खाली हुने १८ सिटमा कांग्रेसलाई आठ, एमालेलाई छ र नेकपालाई कम्तीमा चार सिट पर्छ । बैठकले सिट सङ्ख्या र उम्मेदवार टुङ्ग्याउने जिम्मा पनि संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई दिएको छ । राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ । रिक्त स्थानमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत छन् । बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । उम्मेदवारको मनोनयन दर्ता बुधबार हुँदै छ । बैठकमा संयोजक प्रचण्डले भारत भ्रमणका बारेमा ब्रिफिङ गर्नुभयो । साथै पार्टी संरचना राष्ट्रिय राजनीतिका बारेमा पनि छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।