गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २३ गते । कान्ति बाल अस्पतालले एक हजार शय्यमा विस्तार गर्ने योजना अघि सारेको छ । कान्ति बाल अस्पतालको ६४ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका निर्देशक डा. पङ्कज रायले अस्पताललाई एक हजार शय्यामा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले उहाँले कान्ति बाल अस्पतालले देशको कुल जनसङ्ख्याको एक तिहाइ भाग ओगटेको उल्लेख गर्दै एक हजार शय्यामा विस्तार नगरेसम्म कान्ति अस्पतालमा अत्यधिक चाप रहने बताउनुभयो ।
देशभरिका बालबालिकाको रिफरल अस्पतालका रूपमा कान्ति बाल अस्पताल रहेको उल्लेख गर्दै निर्देशक रायले हाल ३७२ शय्याबाट सेवा दिइरहेको उल्लेख गर्नुभयो । कान्ति अस्पताललाई स्तरोन्नति गर्दै बाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरी प्रतिष्ठानमातहत प्रत्येक प्रदेशमा विशिष्टीकृत बाल अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखेको जानकारी गराउनुभयो ।
मन्त्रालयले सहयोग गर्छ : मन्त्री शर्मा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने जानकारी दिँदै थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्यामा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गर्ने र एक हजार शय्याको अत्याधुनिक स्वास्थ्य संस्थाका रूपमा विस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयका लागि मन्त्रालयले सकारात्मक भूमिका खेल्ने जानकारी दिनुभयो ।