अविनाश चौधरी
धनगढी, पुस २२ गते । कैलालीको धनगढीमा दोस्रो चैतन्य विद्यार्थी महोत्सव आजदेखि सुरु भएको छ । धनगढीमा रहेको चैतन्य पाठशालाले महोत्सवको आयोजना गरेको हो ।
विद्यार्थी महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उद्घाटन गर्नुभयो । त्यस क्रममा उहाँले मुलुकको विकासमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । देशलाई कस्तो जनशक्ति उत्पादन गरेर दिने भन्ने कुरा शिक्षकहरुको हातमा रहेको बताउनुभयो । “विद्यार्थी भनेका काँचो माटो हुन् । यिनीहरुलाई कस्तो बनाउने त्यो गुरुहरुको हातमा छ” उहाँले भन्नुभयो ।
चैतन्य पाठशालाले संस्कारसहितको शिक्षा दिनु अति उत्तम रहेको चर्चा गर्दै प्रदेश प्रमुख मियाँले विद्यार्थीलाई प्राविधिक शिक्षा दिन पनि आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य धर्मराज पाठकले विद्यार्थीलाई तथ्य कुरा बुझाउने कार्यमा सबै विद्यालयले जोड दिनुपर्ने औंल्याउनुभयो । उहाँले पूर्वीय संस्कृतिलाई विज्ञानसँग जोडेर अगाडि बढाएमा विकास चाँडै हुने उल्लेख गर्नुभयो ।
विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागरको साथै सृजनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोंच र आत्मविश्वासको विकास गर्ने उद्देश्यले धनगढीको चैतन्य पाठशालाले दोस्रो पटक चैतन्य विद्यार्थी महोत्सव आयोजना गरेको हो ।
महोत्सवले विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभाको पहिचान, विकास र प्रोत्साहन, बौद्धिक, सृजनात्मक, साँस्कृतिक तथा व्यावहारिक सीपको विकास गर्ने लक्ष्य रहेको पाठशालाका कार्यकारी प्रमुख गणेशप्रसाद जोशीले बताउनुभयो । महोत्सवले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति सुद्धिकरणमा सहयोग गर्ने उहाँको भनाइ छ ।
महोत्सव उद्घाटन अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । विद्यार्थी महोत्सव पुस २९ गतेसम्म चल्ने जनाइएको छ ।