हरिप्रसाद कोइराला
उर्लाबारी (मोरङ), पुस २१ गते । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) को काँकरभिट्टा–लौकही सडकखण्ड विस्तारमा निर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन ।
सडक निर्माणमा एकपछि अर्को विवाद, निर्माण सामग्रीको अभाव र विद्युत् प्राधिकरणले विद्युत् पोल समयमा नहटाइदिँदा निर्धारित लक्ष्य अनुसार प्रगति हुन नसकेको हो ।
कुल १२० किमी लम्बाइको काँकडभिट्टा–लौकही सडकखण्ड विस्तार गर्ने भनिए पनि हाल काँकडभिट्टादेखि इटहरी उपमहानगरपालिकाको लविपुरसम्म ९८ किलोमिटर सडकको मात्र ठेक्का लागेको छ । यो खण्डमा तीन सय मिटरभन्दा लामा छ वटा पुल छन् । ती पुलको अलग अलग दुई वटा ठेक्का र सडकको तीन वटा अलग अलग ठेक्कामार्फत निर्माण भइरहेका छन् ।
काँकडभिट्टा लौकही सडक आयोजना पश्चिम कार्यालयका आयोजना प्रमुख जगत प्रजापतिका अनुसार प्याकेज नम्बर २ को सीतापुरीदेखि गोठगाउँको सडक निर्माणमा सबैभन्दा बढी भौतिक प्रगति भएको छ । उहाँका अनुसार यो खण्डमा ३५.४५ प्रतिशत प्रगति भएको छ । आयोजना प्रमुख प्रजापतिका अनुसार दोस्रो प्याकेज क्षेत्रमा ४० किलोमिटर सडक पर्छ । यस क्षेत्रमा कबिर १८ किलोमिटर जङ्गल क्षेत्र पर्छ । नौ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको यो सडकखण्डमा हालसम्म अढाई किमी दुवैतर्फ कालोपत्रे भइसकेको छ भने थप अढाई किलोमिटर एकतर्फी कालोपत्रे भएको छ ।
मोरङको गोठगाउँदेखि सुनसरीको लविपुरसम्मको सडकको काम निकै सुस्तगतिमा सञ्चालन भइरहेको छ । यो खण्डमा हालसम्म १४.५९ प्रतिशत भौतिक प्रगति भएको छ । १०.७६ किलोमिटर लम्बाइको यो खण्ड चार अर्ब सात करोड ३५ लाख रुपियाँमा ठेक्का लागेको हो । सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने यो क्षेत्रमा छ लेनको सडक निर्माण भइरहेको छ । यो क्षेत्रमा १२४ वटा घरटहरा हटाउन र विद्युत् पोल स्थानान्तरण गर्न लामो समय सहमति नहुँदा हालसम्म १४.५९ प्रतिशत मात्रै भौतिक प्रगति भएको हो ।
पश्चिम खण्डका आयोजना प्रमुख प्रजापतिले पाँचौँ प्याकेजको काम भने पूर्वनिर्धारित लक्ष्य अनुसार नै भइरहेको बताउनुभयो । पाँचौँ प्याकेजको ठेक्कामा पश्चिमतर्फका तीन वटा तीन सय मिटरभन्दा लामा पुल रहेका छन् । रतुवा, बव्रmाहा र लोहोन्द्रा पुलको ठेक्का पाँच अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेको हो । यो प्याकेजमा हालसम्म २८.७० प्रतिशत भौतिक प्रगति भइसकेको छ । जहाँ निर्माण क्षेत्र खाली छ, त्यहाँ लक्ष्य अनुसार नै काम भइरहेको छ । निर्माण क्षेत्र खाली गर्न नसकिएको स्थानमा समस्या आएको छ ।
योजनाको पूर्वी खण्ड कार्यालय दमकका आयोजना प्रमुख सुनीलबाबु पन्तका अनुसार काँकडभिट्टादेखि सीतापुरीसम्मको ४८ किलोमिटर सडकखण्डमा २८ प्रतिशत काम सम्पन्न भएको छ । प्याकेज नं. १ को यो क्षेत्र १० अर्ब छ करोड रुपियाँमा ठेक्का लागेको हो । यस्तै पूर्वी खण्डका तीन सय मिटर लामा तीन वटा पुल रतुवा, कनकाई र बिरिङको निर्माण २३ प्रतिशत सम्पन्न भएको छ ।
दमकका आयोजना प्रमुख पन्तका अनुसार हाल सडकमा ओभर पास र अन्डरपासको काम धमाधम भइरहेको छ । साना पुल र कलभर्ट निर्माणाधीन अवस्थामा छन् । पूर्वी खण्डमा हालसम्म ६.२७५ किमी सडक कालोपत्रे भइसकेको छ । आयोजना क्षेत्रमा पर्ने दुई हजार चार सय वटा विद्युत् पोलमध्ये दुई हजार पोल सारिसकिएको छ । उहाँले कालोपत्रे गर्ने गिट्टी पश्चिम खण्डमा पर्ने खोलामा मात्र उपलब्ध हुने भएकाले गिट्टीको अभाव हुने बताउनुभयो । चिसाङ, तेली र खदमखोलाको गिट्टी प्रयोग गर्न सिफारिस भएकाले सबैतिर गिट्टीको माग बढ्छ । त्यसैले अभाव हुन सक्ने उहाँको भनाइ छ ।
२०८० को माघबाट सुरु भएको सडक स्तरोन्नतिको काम २३ महिना बितिसक्दा समग्रमा २५ प्रतिशत सम्पन्न भएको छ । २०८० को कात्तिकमा सम्झौता भए पनि काम माघमा मात्र सुरु भएको थियो । औसत मासिक तीन प्रतिशतका दरले भौतिक प्रगति हुँदा मात्र निर्धारित समयमा काम सम्पन्न हुने पूर्वी खण्डका आयोजना प्रमुख सुनीलबाबु पन्तको भनाइ छ । उहाँले अबको भौतिक प्रगति तीन प्रतिशतभन्दा धेरै हुने जानकारी दिनुभयो ।