विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २१ गते । सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका फरार प्रतिवादीहरुलाई आइतबार सप्तरी जिल्ला अदालतमा बुझाइएको हो ।
पक्राउ पर्नेमा रुपनी गाउँपालिका वडा नम्बर ३ का राजुप्रसाद साह रहनुभएको छ । उहाँलाई बहुविवाह मुद्दामा ११ महिना पाँच दिन कैद र पाँच हजार रुपियाँ जरिवाना तोकिएको थियो ।
यस्तै, सोही गाउँपालिका वडा नम्बर २ की श्रीदेवी मण्डललाई लेनदेन मुद्दामा पाँच महिना कैद र वडा नम्बर ६ का संजय सदा लाई वनसम्बन्धी मुद्दामा १६ हजार ७२ रुपियाँ जरिवाना तोकिएको थियो ।
त्यसैगरी, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ८ का रामपुकार मण्डललाई कुटपिट तथा लुटपिट मुद्दामा सनत दिन कैद र एक हजार रुपियाँ जरिवाना, सोही ठाउँका शिवनारायण मण्डललाई पनि सोही मुद्दामा सात दिन कैद र एक हजार रुपियाँ जरिवाना तथा सरस्वती देवी मण्डललाई कुटपिट तथा लुटपिट मुद्दामा सात दिन कैद र एक हजार रुपियाँ जरिवाना सजाय सुनाइएको थियो।
यस्तै, शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का शिवचन्द्र पण्डितलाई गाली बेइज्जती मुद्दामा एक सय रुपियाँ जरिवाना तोकिएको थियो ।
पक्राउ परेका सबै प्रतिवादीहरूबाट जम्मा ११ महिना ३१ दिन कैद र २४ हजार एकसय ७२ रुपियाँ जरिवाना असुलीका लागि सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।