अर्जुन कार्की
काठेखोला (बागलुङ), पुस २१ गते । नेकपा (एमाले) बागलुङले बागलुङ क्षेत्र नं. १ मा तीन जना र क्षेत्र नं. २ मा एक जनाको नाम सिफारिस गरेको छ ।
आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वारका लागि नेकपा एमाले क्षेत्रीय समन्वय कमिटिले क्षेत्र नम्बर १ को लागि केन्द्रीय सदस्य मनकुमारी केसी, जिल्ला अध्यक्ष हिराबहादुर केसी र इन्द्रलाल सापकोटाको नाम सिफारिस गरेको छ । उम्मेद्वारका लागि क्षेत्र नम्बर १ मा आठ जनाले नाम दर्ता गरेपनि केन्द्रको सर्कुलर अनुसार छलफलबाट टुङ्गाएर तीन जनाको नाम केन्द्रमा पठाइएको जिल्ला सचिव गणेश थापाले जानकारी दिनुभयो ।
क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. १ का संयोजक तथा जिल्ला उपसचिव धनबहादुर परियारका अनुसार बैठकमा आठ जनाले उम्मेद्वार दाबी गरेपनि छलफलपछि तीन जनाको नाम छनोट गरिएको हो । उम्मेद्वारका लागि एमाले केन्द्रीय सदस्यहरु मनकुमारी केसी, डा.सूर्य पाठक, इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, पूर्व जिल्ला श्रीप्रसाद शर्मा, प्रदेश कमिटि सदस्य गिता शर्मा र सञ्जय कुमार श्रेष्ठ तथा बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले दाबी गर्नुभएको थियो ।
एमालेको केन्द्रीय कमिटिले उम्मेदवारका लागि जिल्लाबाट बढीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न क्षेत्रीय कमिटीलाई निर्देशन जारी गरेको थियो । क्षेत्र नम्बर १ का संयोजक धनबहादुर परियारको संयोजकत्वको समितिले मनकुमारी, हिराबहादुर र इन्द्रलाललाई क्षेत्र नम्बर १ को उम्मेद्वारका लागि सिफारिस गरेको हो । हिरा र इन्द्रलाल गत मङ्सिरमा भएको पार्टीको ११औं महाधिवेशनमा पराजित हुँदा मना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । हिरा खुला केन्द्रीय सदस्य र इन्द्रलाल सचिवमा पराजित हुनुभएको थियो ।
यस्तै, बागलुङ क्षेत्र नम्बर २ बाट एमालेका केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सिफारिस गरिएको जिल्ला सचिव थापाले बताउनुभयो । उहाँले एमाले क्षेत्रीय समन्वय कमिटि प्रतिनिधि सभा क्षेत्र नं. २ को बैठकले चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको बताउनुभयो ।
बैठकमा १२ जनाले दाबी गरेका थिए । बैठकमा देवी प्रकाश भट्टचन, देव कुमार नेपाली, भीम प्रसाद शेरचन (सुनिल), टंक प्रसाद पौडेल, तिलक उप्रेती, याम बहादुर श्रीस, लक्ष्मण पुन, अमरसिंह घर्ति, युवराज महत, दलबिर भण्डारी र इश्वर बोहोराले उमेदवारका लागि दावी गर्नुभएको थियो । कमिटिले छलफलबाट मञ्जु शर्मा चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको हो । चालिसे एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।