लेखनाथ समाचारदाता
लेखनाथ, पुस २१ गते । पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्म ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ ।
पूर्वी खण्डको मादी नदीको पुलबाहेक अरू काम करिब सकिएको छ भने पश्चिम खण्डमा पनि पहिलो चरणको कालोपत्रे भएको छ । पूर्वी खण्डको भौतिक प्रगति ९० प्रतिशत र पश्चिम खण्डको भौतिक प्रगति ७४.४८ प्रतिशत पुगेको छ ।
राजमार्गको पश्चिम खण्डको म्याद यही पुस १४ गते छ महिना थप भएको छ । पूर्वी खण्डको ३८.८ किमी सडकमध्ये ३७.५ किमीमा पहिलो चरणको कालोपत्रे भइसकेको छ । पोखरा विश्वविद्यालयअगाडिको सडक र विजयपुरको पुलआसपास मात्र पहिलो चरणको कालोपत्रे हुन बाँकी छ ।
आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरले ३४ किमीमा दोस्रो चरणको कालोपत्रे भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको कालोपत्रे करिब सकिएको छ, दोस्रो चरणको कालोपत्रे पनि धेरै भइसकेको छ । विजयपुर पुल र चाइना पुलको कामको गति पनि सन्तोषजनक नै देखिएको छ । पृथ्वी चोकको चाइना पुलको प्रगति ५४ प्रतिशत पुगेको छ । सडकको सर्भिस लेनका केही काम बाँकी रहेको छ ।
पश्चिम खण्डमा तेस्रो पटक म्याद थप भएको हो । २०७८ जेठमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले तीन महिनापछि मात्र काम थालेको थियो । यो खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख छ । निर्माण कम्पनीको ढिलाइ, केही घर, टहराको र बिजुलीका पोल सार्न समय लागेकाले निर्माणको काम प्रभावित भएको थियो ।
पश्चिम खण्डमा १३ पुल रहेकोमा ११ पुल तयार भइसकेका छन् । पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा ४६ मिटर र जामुनेदेखि कुम्लेखोलासम्म सडक १८ मिटरको बनाइएको छ । बाँकी सडक २३ मिटर चौडा छ ।
आयोजना अन्तर्गत पूर्वी खण्डमा मादी नदीको पुल निर्माण जारी छ । यो सडक खण्डको भौतिक प्रगति ९० प्रतिशत छ भने पुलको पछिल्लो प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पूर्वी खण्डको राजमार्ग स्तरोन्नति करिब सकिएको जानकारी दिनुभयो ।
पूर्वी खण्ड ४१.४५ किमी छ । यो खण्डमा १७ वटा पुल बनिसकेका छन् । यो खण्डको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाखमा पाएको हो ।