हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस २१ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नैनो गाउँका एक वर्षीय ल्हाक्पा धोका गुरूङका श्वासप्रश्वासमा सङ्क्रमण देखिएपछि ४२ वर्षीया आमा ढिकी गुरूङले गाउँमा आयोजित घुम्ती स्वास्थ्य शिविरमा ल्याउनुभएको छ । कठ्याङ्ग्रिँदो जाडोमा गाउँमै रहेका स्थानीयको स्वास्थ्य परीक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङले आयोजना गरेको शिविरमा चिसोका कारण देखिने समस्याको पहिचान गरी औषधी वितरण गरिएको छ । गाउँमा १२ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा एक वर्षदेखि ८३ वर्षीया वृद्धवृद्धा रहनुभएको थियो ।
चिसो छल्न बस्ती नछोडेकालाई गाउँघरमै पुगेर स्वास्थ्य परीक्षणको क्रममा कलिला बालबालिकालाई श्वासप्रश्वास, छाला, रुघाखोकीको समस्या देखिएको लोमान्थाङ स्वास्थ्य इकाईका स्वास्थ्य सहायक रामलाल गुरूङले बताउनुभयो । चिसोका कारण वृद्धवृद्धाको हातखुट्टा सुनिने, नसा र कम्मर दुख्ने समस्या, छाला सुख्खा हुने, आँखा पोल्ने, मधुमेह, उच्च रक्तचाप, रुघाखोकीसहित विभिन्न प्रकारका समस्याको पहिचान भएको स्वास्थ्यकर्मी गुरूङको भनाइ छ । गुरूङ भन्नुहुन्छ, ‘‘बालबालिकालाई चिसोमा धेरै चुनौती हुन्छ, हामीले शिविरमा बालबालिका र वृद्धवृद्धाको समस्या पहिचानमा ध्यान दिएका छौँ ।’’
उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा चिसो मौसममा मोबाइल क्लिनिक सञ्चालन गरी गोठमा पुगेर शिविर सञ्चालन गर्ने गरिएको छ । बालबालिकादेखि वृद्धवृद्धालाई चिसोबाट लाग्ने रोगबाट जोगिने उपाय सिकाउँदै, बिरामीलाई तत्काल औषधी र जटिल समस्या भएकालाई थप उपचारका लागि समेत पहल गर्ने गरिएको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । चिसोबाट जोगिने नाममा चुरोट तथा सुर्तिजन्य पदार्थका साथै मदिरा सेवन गर्दा झनै समस्या हुने भएकाले बाख्लो कपडा र न्यानोमा बस्न समेत अनुरोध गर्ने गरिएको छ ।
एक्यापले बस्तीमा इलाका प्रहरी कार्यालय लेमान्थाङ, सशस्त्र प्रहरी बलको(बिओपी)को समेत सहयोग लिएर शिविर सञ्चालन गर्ने गरेको छ । कठ्याङ्ग्रिँदो चिसो छल्न जिल्ला बाहिर नगई गाउँमै बसेका स्थानीयको विवरण सङ्कलन सहित स्थानीय तहका जनप्रतिनिधिसँग समेत समन्वय गरी स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको एक्यापले जनाएको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकी तापक्रम माइनस डिग्री सेल्सियसमा झर्ने भएकाले घरमा वृद्धवृद्धाले पशुचौपायाको रेखदेख गर्ने गरेका छन् । मुस्ताङमा मङ्सिर, पुस र माघ र फागुन महिना निकै कष्टकर हुन्छ ।