ढोरपाटन समाचारदाता
बागलुङ, पुस २१ गते । बागलुङको माथिल्लो भेगमा अत्यधिक चिसो बढेपछि बालबालिकासहित शिक्षकशिक्षिका पनि बेँसी झरेका छन् । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका झन्डै ५५० बालबालिका घुम्ती शिक्षाका लागि बेँसीमा झरेका हुन् । चिसोका कारण माथिल्लो भेगका विद्यालय बन्द छन् ।
बागलुङको उपल्लो क्षेत्रमा ढोरपाटन नगरपालिका–८, ९ र निसीखोला गाउँपालिका–५ र ६ वडामा चिसो बढेपछि त्यस क्षेत्रका बालबालिका अभिभावकसँगै बेँसी आएका छन् । चिसो छल्न बेँसी आएका बालबालिकाले घुम्ती शिक्षामार्फत पठनपाठन गर्न थालेका छन् । सबै जना बेँसीमा आएपछि घुम्ती विद्यालयमार्फत अध्ययन गर्दै आएको जनवादी आधारभूत विद्यालय कक्षा ८ का विद्यार्थी मनोज विकले बताउनुभयो ।
ढोरपाटनको ढोरपाटन जनवादी आधारभूत विद्यालय र सलथान प्राथमिक विद्यालयले माथिल्लो भेगमा विद्यालय बन्द गरी तल्लो भेग बोबाङमा घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन् । माथिल्लो भेगमा जाडो बढेपछि बालबालिकाका लागि बेँसीमै घुम्ती शिक्षा सञ्चालन गर्दै आएको सलथान आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर परियारले बताउनुभयो ।