प्रवीण कुमार शर्मा
रौतहट, पुस २१ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रौतहटले क्षेत्र नं. ४ बाट पार्टीका केन्द्रीय सदस्य तथा महिला नेत्री आरती भण्डारीको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको रौतहट जिल्ला कमिटी तथा सचिवालयले बैठकले रौतहट क्षेत्र नं. ४ बाट पार्टीका केन्द्रीय सदस्य तथा महिला नेत्री भण्डारीसँगै उद्धव रेग्मी र रामजी साहको नाम सिफारिस गरेको नेकपा एमाले रौतहटका अध्यक्ष सच्चिदानन्द साहले जानकारी दिनुभयो ।
राजनीतिक, सामाजिक तथा विकासको मुद्दामा निरन्तर योगदान गर्दै आउनुभएका कारण उहाँको नाम अघि सारिएको साहले बताउनु भयो ।
पार्टीका केन्द्रीय सदस्य भण्डारी पछिल्लो समय युवा तथा महिला माझ सर्वाधिक लोकप्रिय नेताको रुपमा देखिनु भएकाले उहाँ उम्मेद्वार भए रौतहट क्षेत्र नं. ४ नेकपा एमालेले नेतृत्व गर्ने सम्भावना बढेको छ ।
रौतहट क्षेत्र नं. ४ बाट सिफारिस हुनु भएका उद्धव रेग्मी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा २६ हजार पाँच सय ५९ मत ल्याउनुभएको थियो । निर्वाचनमा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना ३४ हजार एक सय ६१ मत ल्याई विजयी हुनुभएको थियो ।
आइतबार बसेको रौतहट जिल्ला कमिटी तथा सचिवालयले बैठकले रौतहटका चार वटै क्षेत्रका लागि प्रत्यक्ष तर्फ उम्मेद्वारको अन्तिम टुङ्गो लगाएको नेकपा एमाले रौतहटका अध्यक्ष साहले जानकारी दिनुभयो ।
नेकपा एमाले रौतहटका अध्यक्ष साहका अनुसार रौतहट क्षेत्र नं. १ बाट जिल्ला इन्चार्ज समेत रहनु भएका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको एकल नाम सिफारिस भएको हो ।
रौतहट क्षेत्र नं. २ बाट शैलेन्द्र कुमार साह, राजन यादव, अब्दुल कलाम र महम्मद अतिउल्लाहको नाम सिफारिस भएकोे उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, रौतहट क्षेत्र नं. ३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दनप्रसाद कुशवाहाको एकल नाम सिफारिस भएको छ ।
यस अघि शनिबारका दिन नेकपा एमालेको क्षेत्रीय कमिटी बैठकले क्षेत्र नं. १ र क्षेत्र नं. ३ बाट एक एक जनाको, क्षेत्र नं. २ बाट ५ जना र क्षेत्र नं. ४ बाट ६ जनाको नाम सिफारिस गरेको थियो ।