• २२ पुस २०८२, मङ्गलबार

सबैको पहुँचमा छैन बिमा योजना

blog

नवलपरासी समाचारदाता

कावासोती, पुस २१ गते । हरेक नेपालीलाई स्वास्थ्य बिमामार्फत औषधी उपचार गर्न सरकारले बिमा कार्यक्रम ल्याए पनि यसको पहुँच सर्वसाधारणमा अझै पुग्न नसक्दा धेरै जनता यसबाट वञ्चित छन् । हालसम्म पूर्वी नवलपरासीमा कुल जनसङ्ख्याको ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बिमामा समेटिएका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार तीन लाख ७८ हजार ७९ जनसङ्ख्या रहेको जिल्लामा ४७.३९ प्रतिशत अर्थात् एक लाख ७९ हजार २०८ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड नवलपुरका संयोजक कृष्णबहादुर साउदले जानकारी दिनुभयो । स्वास्थ्य बिमाबाट अझै करिब ५३ प्रतिशत जनसङ्ख्या वञ्चित रहेको उहाँले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बिमामार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष २०७१/७२ को बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बिमा कार्यक्रम पूर्वी नवलपरासीमा २०७६ देखि सुरु भएको हो । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रम देशव्यापी बनेको भए पनि जिल्लाका आधाभन्दा धेरै जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचबाट बाहिर रहेका संयोजक साउदले बताउनुभयो । बोर्डको जिल्ला कार्यालयको तथ्याङ्क अनुसार बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या गैँडाकोट नगरपालिकामा धेरै रहेको छ । यहाँका ३९ हजार ९४६ जना सक्रिय बिमित रहेका छन् । 

त्यसै गरी कावासोती नगरपालिकाका ३३ हजार ६०७ जनाले बिमा गरेका जानकारी उहाँले दिनुभयो । जिल्लाको देवचुली नगरपालिकाका २९ हजार ३५, मध्यविन्दुका २३ हजार ९१३, हुप्सेकोटका सात हजार ८५२, विनयीत्रिवेणीका चार हजार आठ, बौदीकालीका तीन हजार ६०४ र बुलिङटारका दुई हजार ३८५ जना नागरिक स्वास्थ्य बिमाको सक्रिय बिमित रहेका जिल्ला संयोजक साउदले बताउनुभयो ।

जिल्लामा ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका भए पनि नवीकरण गर्ने अर्थात् सक्रिय बिमितको सङ्ख्या भने कम हुँदै गएको साउदले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २४६ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार, ‘क’ वर्गका अपाङ्गता भएका ७६५ परिवार र १७ हजार ४० जना ज्येष्ठ नागरिक पनि स्वास्थ्य बिमामा आबद्ध रहेका छन् । सरकारले ज्येष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका परिवारलाई निःशुल्क र महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट दिँदै आएको छ ।