ललित बसेल
भेरीगङ्गा (सुर्खेत), पुस २१ गते । सात वर्षअघि सङ्घीय सरकारको पर्यटन मन्त्रालयले भेरीगङ्गा नगरपालिका–५ को गिद्धेडाँडालाई एक सय गन्तव्य सूचीमा घोषणा गरेको थियो ।
२०७६ मा सङ्घीय सरकारले देशभरका एक सय गन्तव्य सूचीमा पारेर ५० लाख बजेट पनि विनियोजन ग¥यो । अर्को वर्ष पनि पुनः ५० लाख बजेट आयो । दुई वर्षमा आएको कुल एक करोड बजेटले केही संरचना बने पनि अहिले भने सो स्थानलाई बेवास्ता गरिएको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।
सो बजेटले लेकहात्तीखालदेखि गिद्धेडाँडाको टुप्पोसम्म ९४५ वटा सिँढी बनाइएको छ भने धर्मशाला, मन्दिर निर्माण गरिएको छ तर उचित संरक्षणको अभावमा ती संरचना जीर्ण हुँदै गएको उहाँले बताउनुभयो । पछिल्लो समय सङ्घ र प्रदेशबाट बजेट नआउँदा उक्त क्षेत्र बेवास्तामा परेको छ । भेरीगङ्गा नगरपालिकाले गर्ने सानोतिनो सहयोग कनिका छरे झैँ भएको छ । पहिले गन्तव्यको सूचीमा परेको गिद्धेडाँडा अहिले सबैको बेवास्तामा परेको भन्दै स्थानीय बासिन्दाले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग बजेट विनियोजनका साथै उचित प्रचारप्रसार र संरक्षणमा ध्यान दिन माग गरेका छन् ।
राष्ट्रिय गौरवको भेरी बबई आयोजनाको सुरुङको अन्तिम विन्दु, बर्दिया राष्ट्रिय निकुञ्जसँगै रहेको क्षेत्र, तल सिँचाइसहितको अर्गानिक गाउँ र माथि टुप्पोमा लोपोन्मुख गिद्ध बस्ने ठाउँ भएकाले उक्त गिद्धेडाँडालाई सङ्घीय सरकारले सय गन्तव्यको सूचीमा राखेको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।
भेरीगङ्गा नगरपालिकाले गिद्धेडाँडाको संरक्षण र प्रचारप्रसारमा केही सहयोग गरे पनि त्यो अपर्याप्त भएको हुँदा प्रदेश र सङ्घीय सरकारलाई बजेट छुट्याइदिन उहाँले माग गर्नुभयो । स्थानीय शिक्षक डिल्लीबहादुर खड्काले सुरुमा गन्तव्य सूचीमा पार्ने र पछि अलपत्र पारिएको आरोप लगाउनुभयो । गिद्धेडाँडा रहेको भेरीगङ्गा नगरपालिका–५ का वडाध्यक्ष प्रेमबहादुर सारूले एक करोड बजेट खर्च भइसकेको सो गन्तव्य सूचीको प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउनुभयो ।