• २१ पुस २०८२, सोमबार

लोपोन्मुख हिमाली गिद्धको उद्धार

blog

उद्धार गरिएको गिद्ध । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस २० गते । तनहुँको आँबुखैरेनी गाउँपालिका –१ बराँदीमा पखेटा भाँचिएर अलपत्र अवस्थामा फेला परेको दुर्लभ हिमाली ग्रिफन गिद्धको डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको छ ।

स्थानीय बासिन्दाले उड्न नसक्ने अवस्थामा गिद्ध देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । उद्धार भएपछि लोपोन्मुख चराको ज्यान जोगिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार उद्धार गरिएको गिद्धको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राखिएको छ । हाल कार्यालय परिसरमै राखेर उपचार र हेरचाह भइरहेको उहाँले बताउनुभयो । 

घाइते अवस्थामा प्राकृतिक बासस्थानमै छाडिदिँदा स्याल लगायतका जङ्गली जनावरले आक्रमण गर्ने जोखिम भएकाले कार्यालयले यसको संरक्षण गरिरहेको छ । हाल बोइलर कुखुराको मासु आहाराको रूपमा खुवाइएको यस गिद्धको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । निको भएपछि यसलाई गिद्ध रेष्टुरेष्ट वा व्यास नगरपालिका –१० शिसूवा भतेरीमा रहेको गौ संरक्षण केन्द्रमा लगि सुरक्षित रूपमा छाड्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।

नेपालको पहाडी तथा हिमाली क्षेत्रमा करिब एक हजारदेखि ५ हजार ५०० मिटरको उचाइसम्म पाइने हिमाली ग्रिफन गिद्ध जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । यस प्रजातिले मरेका जनावरको मासु खाएर वातावरणलाई दुर्गन्धमुक्त बनाउन र हैजा, रेबिजजस्ता रोगहरू फैलिन नदिन प्रकृतिमा ‘कुचिकार’ को रूपमा अतुलनीय भूमिका निर्वाह गर्दछ ।