• २१ पुस २०८२, सोमबार

एमाले जुम्लाबाट महत एकल सिफारिस

blog

नेकपा (एमाले) जुम्लाका अध्यक्ष शान्तिलाल महत ।

नौरते नेपाली

सिँजा (जुम्ला), पुस २० गते। नेकपा (एमाले) जुम्लाका अध्यक्ष शान्तिलाल महतको नाम फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल रूपमा सिफारिस गरिएको छ । पार्टीको जिल्ला कमिटीको हालै सम्पन्न बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेदवार ठहर गर्दै सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो । 

पार्टी स्रोतका अनुसार संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका महतले जिल्लाको राजनीतिक, सामाजिक तथा विकासको मुद्दामा निरन्तर योगदान गर्दैआएको मूल्याङ्कनको आधारमा उहाँको नाम अघि सारिएको हो । 

विशेषगरी जुम्लाको भौगोलिक विकटता, विकासका चुनौती र जनताको आवाजलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा गर्न सक्ने क्षमताका कारण महतलाई प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिस गरिएको नेकपा (एमाले) जुम्लाका प्रचार विभाग प्रमुख सरोज शाहीले बताउनुभयो।

जिल्ला कमिटी जुम्लाको सचिवालय बैठकमा सहभागी नेताहरूले पार्टी संगठनलाई सुदृढ बनाउने, कार्यकर्ताबिच एकता कायम गर्ने र स्थानीय तहदेखि केन्द्रसम्म जनताको सवाललाई उठान गर्न महतले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । पार्टी नेतृत्वका अनुसार संगठनप्रतिको निष्ठा, राजनीतिक अनुभव र जनसम्पर्कको आधारमा महतलाई एकल सिफारिस गरिएको शाहीले बताउनुभयो। 

यसैगरी बैठकमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आगामी रणनीति, संगठन विस्तार, चुनावी तयारी तथा कार्यकर्ताको भूमिकाबारे पनि विस्तृत छलफल गरिएको थियो । निर्वाचनलाई सफल बनाउन पार्टी पङ्ति एकताबद्ध भएर अघि बढ्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ । एकल सिफारिस भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष महतले पार्टीले दिएको जिम्मेवारीलाई सम्मानका रूपमा लिएको बताउँदै जुम्लाको विकास, सुशासन र जनताको जीवनस्तर उकास्ने सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।