• २१ पुस २०८२, सोमबार

लाङ्दीदेवी एफसी फाइनलमा

blog

लाङ्दीदेवी एफसीका खेलाडी रन्दिप पौडेल बल अगाडि बढाउँदै। तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस २० गते । लमजुङ सदरमुकाम बेंसीसहरमा जारी ३३औं त्रिवेणी कपमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई पराजित गर्दै घरेलु टिम लाङ्दीदेवी एफसी नाल्मा फाइनलमा पुगेको छ ।

बेसिसहरस्थित सहजी रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा लाङ्दीदेवीले २–० को जित निकालेको हो । सोमबार लाङ्दीदेवीले उपाधिका लागि साबिक विजेता एपीएफ क्लबसँग खेल्ने भएको छ।

एपीएफले पहिलो सेमिफाइनलमा लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। लाङ्दीदेवीलाई जित दिलाउन रोहन कार्की र आशिष गुरुङले समान एक गोल गर्नुभयो । खेलको ३६औं मिनेटमा रोहन कार्कीले लाङ्दीदेवीलाई सुरुआती अग्रता दिलाउनुभएको थियो ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आशिष गुरूङले पेनाल्टी सुटबाट गोल गर्दै लाङ्दीदेवीको सहज जित पक्का गर्नुभयो । फाइनल खेल सोमबार दिउसो १ बजे हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजंग गरूङले जानकारी दिनुभयो । विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपबिजेताले ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किप्परले जनही २५/२५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको म्याद अफ दि म्याचलाई १० हजार रुपियाँ  र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो।