• २१ पुस २०८२, सोमबार

पहिलो ओलम्पियन नामसिंह थापाको निधन

blog

काठमाडौँ, पुस २० गते । नेपालका पहिलो ओलम्पियन खेलाडी मध्येका एक नामसिंह थापाको निधन भएको छ ।

नेपालकोतर्फबाट ओलम्पिकमा पहिलो पटक बक्सिङ खेलमा सहभागिता जनाउनुभएका थापाको शनिबार बिहान हङकङस्थित ‘हेभन एण्ड होप’ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

थापा लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । थापाको निधन भएको नेपाल बक्सिङ सङ्घले पुष्टि गरेको छ । सङ्घले थापाको निधनप्रति श्रद्धाञ्जली पनि ब्यक्त गरेको छ ।

स्वर्गीय थापाको श्रीमती, एक छोरा र चार छोरीहरु हुनुहुन्छ । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिएको हो ।त्यतिबेला बक्सिङमा १८ वर्षका थापासँगै नेपालका ६ खेलाडीले एथलेटिक्स र बक्सिङमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा थापासँगै ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले बक्सिङमा र गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवालले म्याराथनमा प्रतिस्पर्धा गर्नुभएको थियो ।