काठमाडौँ, पुस २० गते। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतर्फको चुनावको तयारी समानान्तर रूपमा गरिरहेको बताउनु भएको छ। कार्यवाहक प्रमुख भण्डारीले पुराना र नयाँ सबै राजनीतिक शक्तिहरू चुनावका लागि तयार भइसकेको आयोगले चुनावी तयारीमा पूर्णरूपमा लागेको बताउनु भएको हो।
निर्वाचन आयोगमा अन्य आयोगका प्रतिनिधिसँगको छलफलमा भण्डारीले आयोगले राष्ट्रिय सभा र प्रतिनिधिसभामा गरी २९३ विधायक निर्वाचित गराउने प्रक्रियामा रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘‘हामी अहिले राष्ट्रिय सभा समेत गरी २९३ जना विधायक निर्वाचित गराउन कम्मर कसेर लागेका छौँ। राष्ट्रिय सभामा १८ जनाका लागि माघ ११ मा निर्वाचन गछौँ। ११० समानुपातिक र १६५ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रमाणीकरणबाट गरी २७५ जना प्रतिनिधि सभाका लागि निर्वाचित गछौँ। समानान्तर रूपमा हामी सबै निर्वाचनका कार्यक्रम एकैपटक सञ्चालन गरिरहेका छौँ।’’
अन्य आयोगहरू तथा विभिन्न सरोकारवाला समुदायले उठाएका कतिपय माग सम्बोधनका लागि संविधान र काननु संशोधन आवश्यक रहेको उहाँले बताउनु भयो। आरक्षित निर्वाचन क्षेत्रका सुझाव कार्यान्वयनका लागि पनि संविधान संशोधन आवश्यक रहेको उहाँको भनाइ थियो। नयाँ व्यवस्थामा प्रवेश गर्दा बृहत् राजनीतिक परामर्श समेतको आवश्यकता पर्ने भनाइ भण्डारीको थियो।
उहाँले निर्वाचन प्रचार सामाग्रीलाई बहुभाषामा तयार पार्न निर्वाचन आयोगले अन्य आयोगसँग सहकार्य गर्ने बताउनु भयो। निर्वाचन प्रचार प्रसारका कामलाई चरणबद्ध र व्यवस्थित रूपमा सञ्चालन गरिरहेको पनि उहाँको भनाइ छ। मतदाता शिक्षा प्रवर्धनका लागि परम्परागत घरदैलो कार्यक्रमसँग डिजिटल प्लेटफर्महरूको प्रयोगलाई पनि आयोगले प्राथमिकता दिएको उहाँले बताउनु भयो।
कार्यवाहक प्रमुख भण्डारीले भन्नु भयो, ‘‘पहिलेजस्तो घरदैलो प्रक्रिया एउटा भयो तर अहिले सामाजिक सञ्जाल प्लेटफर्मलाई पनि हामीले अधिकतम प्रयोग गछौँ। निर्वाचनको सन्दर्भमा आयोगले पनि विविध सामाग्री उत्पादन गरेर प्रयोग गर्छ।’’
उहाँले महिलाहरूका लागि आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्न समेत प्रशस्त परामर्शको आवश्यकता रहेको बताउनु भयो। फागुन २१ गतेको निर्वाचनमा नयाँ विषयलाई समावेश गरेर जान समय सीमाका कारण कठिन रहेको उहाँको भनाइ थियो।
आयोले निर्वाचन तयारीलगायतका विषयमा आइतबार थारू, मुस्लिम, आदिवासी जनजाति, समावेशी, मधेशीलगायतका आयोगका पदाधिकारीसँग छलफल गरेको हो। छलफलमा आयोग पदाधिकारीले विविध पक्षमा सुझाव समेत प्रस्तुत गरेका थिए।