• २१ पुस २०८२, सोमबार

एमाले उपाध्यक्ष पौडेल रूपन्देही २ बाट एकल सिफारिस

blog

फाइल तस्बिर ।

छविलाल पाण्डे 

बुटवल, पुस २० गते । नेकपा एमाले रूपन्देहीले रूपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।

आइतबार बुटवलमा बसेको नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ पौडेलको एकल नाम सिफारिस गरेको हो । एमाले उपाध्यक्ष पौडेल यसअघि २०७९ र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेर विजयी बन्नु भएका थियो ।

त्यसअघि संविधान सभाको निर्वाचनमा पनि उहाँ रूपन्देही क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।  

पूर्व अर्थमन्त्री पौडेल अहिले रूपन्देही जिल्लामा पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनु भएको छ । उता नेपाली कांग्रेसले भने रूपन्देही २ बाट आधा दर्जन नेताहरूको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ । 

रूपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसले प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हीरा खत्रीले जानकारी दिनु भयो ।   

त्यसैगरी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट ६ जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस हुनु भएको छ । यस्तै समानुपातिकमा गङ्गा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको छ ।