काठमाडौँ, पुस १५ गते । नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) को आयोजनामा एनएसएसएफ १३औँ किन्डर ओलम्पिक मङ्गलबार सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । यसअघि पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १५ सय ४० विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा विभिन्न १२ खेलको प्रतिस्पर्धा भएको थियो । बालबालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जानकारी दिनु भयो ।
पुस १२ गते भएको पहिलो चरणको कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भएको थियो । यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गर्नु भएको थियो ।
सानै उमेरदेखि बालबालिकालाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा इसिइटीएले किन्डर ओलम्पिकको सुरु गरेको थियो ।