• १५ पुस २०८२, मङ्गलबार

साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी

blog

दुबई (संयुक्त अरब इमिरेट्स), पुस १५ गते । साउदी अरेबियाले मङ्गलबार यमनको बन्दरगाह सहर मुकल्लामा हवाई आक्रमण गरेको छ । राज्यले यसलाई संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको पृथकतावादी शक्तिका लागि हतियार ढुवानीको रूपमा वर्णन गरेको छ र अबु धाबीलाई चेतावनी दिएको छ कि यसका कार्य ‘अत्यन्त खतरनाक’ छन् ।

यो आक्रमणले साउदी अरब र युएई समर्थित दक्षिणी ट्रान्जीसनल काउन्सिलबिचको तनावलाई बढाएको छ । यमनमा हुथी विरोधी फौजले युएईसँगको सहयोग तोड्दै २४ घण्टाभित्र आफ्ना सैनिक खाली गर्न आदेश दिएको छ र आक्रमणपछि विमानस्थल तथा बन्दरगाहमा ७२ घण्टे प्रतिबन्ध जारी गरेको छ ।

साउदी प्रेस एजेन्सीले जहाजमा अशक्त ट्र्याकिङ उपकरणसहित हतियार र बख्तर बन्द सवारी साधन ढुवानी भएको र त्यसलाई लक्षित गरी सीमित हवाई आक्रमण गरिएको बताएको छ । आक्रमणबाट कुनै ठुलो हताहत भएको पुष्टि भएको छैन ।

विश्लेषकले यो आक्रमण दक्षिणी ट्रान्जीसनल काउन्सिलको अगाडि बढ्ने कदमलाई रोक्न र हदरामौत र महराका प्रान्त छोड्न चेतावनी स्वरूप भएको विश्लेषण गरेका छन् । मुकल्ला यमनको हदरामाउट गवर्नरेटमा अवस्थित छ, जुन हाल काउन्सिलको नियन्त्रणमा छ र दक्षिण यमनलाई अलग्गै राष्ट्र बनाउन चाहने राजनीतिक आन्दोलनको केन्द्र बनेको छ ।

यस घटनाले साउदी अरब र युएईबिचको सम्बन्धमा दबाब सिर्जना गरेको छ । हालैका वर्षमा यी दुई राष्ट्र घनिष्ठ भए तापनि क्षेत्रीय प्रभाव र व्यापारमा प्रतिस्पर्धा पनि बढेको छ । साउदी विदेश मन्त्रालयले यस आक्रमणसँग युएईको हालैका कार्य प्रत्यक्ष रूपमा जोड्दै ‘अत्यन्त खतरनाक’ भएको जनाएको छ । रासस/एपी