बिकास अधिकारी
पश्चिम नवलपरासी, पुस १५ गते । शीतलहरका कारण सडक चिप्लो हुँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दुई दिनदेखि सवारी आवागमनमा समस्या भएको छ । आइतबारदेखि शीतलहरका कारण सडक चिप्लो हुँदा विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा सवारी साधन सहज रूपमा चल्न नसक्दा यात्रुहरू घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ ।
निरन्तरको शीतलहरका कारण सडक चिप्लो हुँदा सवारी साधन पश्चिम खण्डको बर्दघाट र भुमही सम्म लाम लागेका छन् भने पूर्वी खण्डमा दुम्किबास देखि चोरमारा सम्म सवारी साधन रोकिएका छन् । विशेषगरी दाउन्ने पूर्वको खुर्सानी खोला क्षेत्रमा समस्या देखिएको छ । सडक चिप्लो हुँदा सवारी साधन उकालोमा उक्लन नसक्दा फसेका छन् भने केही चिप्लिएर पल्टिएका कारण सहज रूपमा यातायात सुचारु हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका वरिष्ठ सई प्रेम पोखरेलले जानकारी दिनु भयो ।
केही दिन देखि यस क्षेत्रमा घाम लाग्न सकेको छैन् । बाक्लो कुहिरो र हुस्सु तथा शीतलहरका कारण दाउन्ने खण्डको यात्रा कष्टकर बनेको हो । सडक खुलाउन प्रयास गरिए पनि चिप्लो भएका कारण समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ । प्रहरीले पूर्व र पश्चिम दुवै खण्डमा सवारी साधनलाई दाउन्ने चढ्न रोक लगाएको छ ।
नारायणगढ बुटवल सडक योजना (पश्चिम खण्ड)ले आज एक सूचना जारी गर्दे दाउन्ने खण्डमा सवारी आउजाउमा समस्या भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सो खण्डमा कल्भर्ट निर्माण तथा अन्य कामका कारण विभिन्न स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको समयमा शीतलहरका कारण सडक चिप्लो हुँदा झनै समस्या भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । साथै सडक लेन नियम पालना गर्न पनि भनिएको छ ।
सडक लेन नियम पालना नगरी जथाभावी सवारी साधनले ओभरटेक गर्दा पनि जामको समस्या भएको छ । दाउन्नेमा तीन दिन देखिको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् ।