• १५ पुस २०८२, मङ्गलबार

बक्यौता असुली र प्राविधिक सुधारको काममा दोलखा वितरण केन्द्रको सक्रिय

blog

दोलखा वितरण केन्द्र ।

सुजन काफ्ले                                                                    

चरीकोट, पुस १५ गते । नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले पछिल्लो समय विद्युत् महसुल बक्यौता असुली र प्राविधिक सुधारको कामलाई तीव्रता दिएको छ । 

गत महिना मात्रै सरुवा भएर आएका कार्यालय प्रमुख रोशनकुमार सिंहको सक्रियतासँगै वितरण केन्द्रले बक्यौता नतिर्ने ग्राहकको लाइन काट्नेदेखि जिल्लाको विद्युतीय संरचना सुधारसम्मका कामलाई विशेष प्राथमिकतामा राखेर तिब्रता दिएको हो । 

वितरण केन्द्रको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म महसुल नतिर्ने १ सय ४४ जना ग्राहकको विद्युत् लाइन काटिएको छ । लाइन काट्न  कडाइ गरेसँगै कार्यालयले करिब २६ लाख रुपियाँ बक्यौता महसुल उठाउन सफल भएको छ । लाइन काटिएकामध्ये १ सय १७ जना ग्राहकले जरिवानासहित महसुल बुझाएपछि उनीहरूको लाइन पुनः सुचारु गरिएको छ भने बाँकी ग्राहक अझै सम्पर्कमा आएका छैनन्। हाल जिल्लाभर ३३८ जना ग्राहकलाई लामो समयदेखि महसुल नतिरेका कारण कालो सूचीमा राखिएको छ कार्यालय प्रमुख रोशनकुमार सिंहले बताउनु भयो ।

उहाँले महसुल सङ्कलनको अभियानलाई अझै प्रभावकारी बनाइने लगिने बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य भनेको राज्यको राजस्व सुरक्षित गर्नु र ग्राहकलाई गुणस्तरीय सेवा दिनु हो । समयमा महसुल नतिर्ने ग्राहकलाई हामीले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छौँ । तर, अटेर गर्नेहरूको हकमा लाइन काट्नुको विकल्प छैन । विशेषगरी जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले लामो समयदेखि महसुल तिर्न बाँकी राखेको पाइएकाले अब ती उद्योगहरूको लाइन काट्ने अन्तिम तयारी गरिरहेका छौँ । कसैलाई पनि छुट दिइने छैन ।"

दोलखा जिल्लाभर कुल ४२ हजार ६५४ जना ग्राहक रहेका छन् । कार्यालयको पछिल्लो सक्रियताको प्रभाव महसुल सङ्कलनमा स्पष्ट देखिएको छ । लामो समयदेखि बाकी रहेको बक्यौता मध्य गत मङ्सिर महिनामा मात्रै केन्द्रले लक्ष्यको ११२ प्रतिशत महसुल सङ्कलन गर्न सफल भएको छ । 

महसुल सङ्कलनसँगै वितरण केन्द्रले प्राविधिक चुहावट नियन्त्रण र सुरक्षामा पनि जोड दिएको छ । जाडो मौसममा विद्युत् माग बढ्ने र लाइनमा अवरोध आउने सम्भावनालाई मध्यनजर गर्दै नाङ्गो तार आसपासका रुखका हाँगा काट्ने र ’बुस कटिङ’ गर्ने कार्यलाई तीव्र बनाइएको कार्यालयले जनाइएको छ । 

भौगोलिक रूपमा अत्यन्तै दुर्गम र सडक सञ्जालले नछोएको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ वेदिङमा समेत लाइन सुधारको काम अगाडि बढाइएको वितरण केन्द्रका लेखा शाखा प्रमुख माधव प्रसाईंले बताउनु भयो। 

जिल्लाको विद्युत् प्रसारणलाई थप व्यवस्थित बनाउन ३३ केभी गर्जाङ–जिरी लाइन र ११ केभी सितलीको लाइन पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन भइरहेको छ। “हामीले उपकरण र सामग्रीको व्यवस्थापन गर्दै अवरुद्ध वा कमजोर रहेका प्रसारण लाइनलाई सुधार गरिरहेका छौँ,“ प्रमुख प्रसाईले थप्नु भयो ।

यस अभियानले आगामी दिनमा दोलखामा विद्युत् ट्रिपिङको समस्या कम हुने र ग्राहकले भरपर्दो बिजुली पाउने विश्वास लिइएको छ।

मिटर जडान भएका सिल नलगाई चुहावट गरिएका मिटर रिसिल गरिएको छ । मिटर जडान, मिटर रिडिङ तथा महसुल सङ्कलन, विद्युत् चोरी नियन्त्रण, वितरण लाइन विस्तार, वितरण लाइन सुधार, संरचना बनाउने मापदण्ड र लाइनको रुट परिवर्तन, विद्युतीय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको उहाँले बताउनु भयो । 

मिटर रिडिङ भएको सात दिनसम्म दुई प्रतिशत छुटको व्यवस्था छ । १५ औँ दिनसम्म बिल अनुसारको रकम तिर्नु पर्ने हुन्छ । मिटर रिडिङ भएको १६ औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१ औँ दिनखेखि ४० दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । 

मिटर रिडिङ भएको ४० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने सेवाग्राहीलाई ४१ औँ दिनदेखि २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।