काठमाडौँ, पुस १५ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताउनु भएको छ ।
राष्ट्रिय च्याउ दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री डा. परियारले प्रविधि विस्तार, बजारीकरण तथा प्रवद्र्धन गर्न कृषि विभाग अन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।
गुणस्तरीय च्याउ उत्पादन र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आघात प्रतिस्थापन र निर्यात प्रवर्धन समेतमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने सरकारले निर्णय गरे बमोजिम पहिलो पटक राष्ट्रिय च्याउ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको तथा करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको तथ्याङ्क छ ।
नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।
विगत केही वर्षदेखि उद्यमी एवं सरकारको साथ र सहयोगका कारण च्याउको व्यावसायिक उत्पादन, प्रवर्धन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनको आधार तय हुँदै गएको छ ।
अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका लागि महत्त्वपूर्ण रहेको मन्त्री डा. परियारले उल्लेख गर्नु भयो ।
आगामी दिनमा च्याउ क्षेत्रको थप प्रवर्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवर्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागि उहाँले आह्वान गर्नु भएको छ । रासस