अविनाश चौधरी
धनगढी, पुस १५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार र सञ्चारमाध्यमको सहकार्यले लोकतन्त्र अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
‘प्रदेश सरकारले अघि बढाएका विकास निर्माणका कार्य, सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहका विषयमा गोरखापत्र संस्थानले निरन्तर रुपमा सकारात्मक पहल गर्दै आएको छ’, मुख्यमन्त्री शाहले भन्नुभयो, ‘उहाँले सरकार र सञ्चार माध्यमबिचको सहकार्यले लोकतन्त्र अझ सुदृढ बन्नेछ ।’
संस्थानका महाप्रबन्धक ऐरीले सरकारका गतिविधि, कार्यक्रम तथा उपलब्धिलाई आम नागरिकसम्म प्रभावकारी रुपमा पुर्याउन संस्थानले निर्वाह गर्दै आएको भूमिकाकाबारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनु भएको थियो । उहाँले संघीयता कार्यान्वयनको सवाललाई संस्थानले निरन्तर उजागर गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
भेटघाटकोे क्रममा गोरखापत्र संस्थानको प्रकाशन मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले, गोरखापत्रका सुदूरपश्चिम कार्यालय प्रमुख कृतबहादुर विष्टको उपस्थिति रहेको थियो । यसैबिच, सुदूरपश्चिम सरकारसँग गोरखापत्रले सहकार्य गर्ने विषयमा छलफल पनि गरिएको थियो ।