• १५ पुस २०८२, मङ्गलबार

तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान

blog

तरकारी खेतीका लागि बीउविजन र आवश्यक सामग्री वितरणपछिको सामूहिक तस्बिर ।

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १५ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान सहयोग गरेको छ । तरकारी खेती उत्पादन तथा बजारीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरेको हो ।

सिदिङ्वा गाउँपालिका–३ आङ्खोप र वडा ४ साब्लाखुका किसानलाई तरकारी खेतीका लागि अनुदान सहयोग उपलब्ध गराइएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार तरकारी खेतीका लागि सतप्रतिशत अनुदानमा तरकारीको बीउ र खेती गर्दा आवश्यक पर्ने सामग्री वितरण गरिएको छ ।

आङ्खोपका विभिन्न तीन र साब्लाखुका दुईवटा टोल विकास संस्थामा आवद्ध रहेका किसानलाई तरकारीको बीउ लगायतका सामग्री उपलब्ध गराइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आङ्खोपमा लसुने टोल विकास संस्था, थुङ्रुम्बा र आगेपा टोल विकास संस्थामा आवद्ध किसानलाई तरकारी खेतीका लागि अनुदान सहयोग उपलब्ध गराइएको छ ।

साब्लाखुमा बरडाँडा र सिंहदेवी टोल विकास संस्थामा आवद्ध रहेका किसानले अनुदान सहयोग प्राप्त गरेका छन् । गाउँपालिकाले तरकारी खेती गर्न आलुको बीउ, लसुन, मटर, गोलभेडा (टमाटर), काउली, बन्दा र प्याजको बीउ किसानलाई वितरण गरेको छ । त्यस्तै तरकारी खेती गर्दा आवश्यक पर्ने पानी सिँचाइ गर्ने हजारी, स्प्रे लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार प्रत्येक टोल विकास संस्थाका १६ जनाका दरले ८० जना किसानलाई तरकारी खेतीका लागि तरकारीको बीउ र खेतीमा प्रयोग गरिने उपकरण प्रदान गरिएको छ । उक्त दुईवटा वडाका किसानलाई तीन हजार ४४० किलोग्राम आलुको बीउ, २०० किलोग्राम लसुनको बीउ, ७५ किलोग्राम मटरको बीउ तथा किसानको मागअनुसार टमाटर, काउली, बन्दा र प्याजको बीउ बितरण गरिएको पालिकाले जनाएको छ ।

यसैगरी, तरकारी खेतीका लागि अनुदान पाएका प्रत्येक किसानलाई हजारी दुई वटा र स्प्रे एउटाका दरले उपलब्ध गराएकोसमेत पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) लगायतका जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा किसानलाई तरकारी खेतीका लागि बीउ र आवश्यक सामग्री वितरण गरिएको बताइएको छ ।