• ५ चैत २०८२, बिहिबार

नवीनबाबुको एकल फोटो प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १२ गते  । फोटो पत्रकार नवीनबाबु गुरुङको एकल फोटो प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डमा गुरुङले ड्रोनबाट खिच्नुभएको तस्बिर प्रदर्शन गरिएको छ ।

प्रदर्शनीमा नेपालको विभिन्न भूभागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँबस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्व झल्किने तस्बिर राखिएको छ । नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचारप्रसारको पर्खाइमा रहेका स्थानको आकाशबाट देखिने दृश्य प्रस्तुत गरिएको गुरुङले बताउनुभयो । “प्रदर्शनीमा केही पर्यटनमा लोकप्रिय रहेका त केही जुर्मुराउँदै गरेका साथै भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँठाउँका फोटो ड्रोनमार्फत कैद गरिएको छ । “चराले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्र कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिर प्रस्तुत गरिएको हो”, उहाँले भन्नुभयो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमू सञ्चारकर्मी सङ्घ नेपालले यो प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनी आइतबारसम्म चल्ने छ ।