हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २७ गते । घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारले गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले मार्छ भन्ने कल्पना गर्नुभएको थिएन । बस्ती नजिकै, मानिसको चहलपहल हुने स्थानमा गाउँभित्रको भेडाच्याङ्ग्रा राख्नुभएका परियारले कल्पनौ नगरेको क्षति ब्यर्होनुपर्यो । शीतोष्ण बागवानी विकास केन्द्र नजिकै रहेको गोठमा चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्याङ्ग्रा गरी १९ वटा मरेका छन् । खोरमा रहेका ४५ भेडाच्याङ्ग्रामध्ये केही घाइते भएका छन् । बजारको मूल्य अनुसार मुचुल्का गर्दा करिब ६ लाख बराबरको नोक्सानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोमका रेञ्जर दिपक ओलीले जानकारी दिनुभयो ।
रेञ्जर ओलीले भन्नुभयो, ‘‘रातिमा सक्रिय हुने भएकाले थप जानकारीका लागि क्यामेरा जडान गरिएको छ, यहाँ पहाडी क्षेत्रमा पाइने चितुवा बेलाबेलामा देखिन्छ ।’’ भेडाच्याङ्ग्रा मारेको स्थान आसपासका क्षेत्रमा केही दिन अगाडी स्थानीयले पहाडी जिल्लामा पाइने चितुवा देखेको जानकारी पाएपछि एक्यापले आसपासका क्षेत्रमा निगरानी सहित चितुवाको पाइला सहित अन्य प्रमाणहरूको समेत अध्ययन गरिरहेको रेञ्जर ओलीको भनाइ छ ।
शनिबार बिहान समेत एक्यापको टोली गोठमा पुगेर स्थलगत अवलोकन गरेका छन् । अत्याधिक चिसोका कारण बुकीमा रहेका भेडाका गोठ बस्ती क्षेत्रमा सारिएको अवस्थामा चितुवा आहारा खोज्दै समुन्द्री सतहदेखि २६ सय ८३ मिटरमा रहेको गोठमा रहेका पशुचौपायामा क्षती पुर्याउन थालेपछि पशुपालक चिन्तित छन् ।
पाँच महिना अगाडि अर्थात साउन महिनाको २५ गते गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको पहाडी क्षेत्रमा पाइने चितुवाको फोटो खिच्नुभएको थियो । तल्लो मुस्ताङको थासाङ, घरपझोङ गाउँपालिकामा छिमेकी जिल्ला म्याग्दीबाट समेत आहाराको खोजीमा चितुवा प्रवेश गर्ने गरेकको अनुमान छ । पहाडी चितुवा र हिउँ चितुवाको बनजङ्गलमा पाइने आहारा झारल, घोरल नाउर, जङ्गली कुकुर, फ्याउ मुसालगायतका बन्यजन्तु नपाएपछि बस्तीमा रहेका भेडाच्याङ्ग्रा, याकचौरी, घोडा, खच्चड लगायतका पशुचौपायालाई निसाना बनाउने गरेको छ ।
जाडोयामा सिकारी र आहारा प्रजातिका बन्यजन्तु ‘कोर एरिया’मा आहाराको कमी हिउँ जमेपछि आहाराको खोजीमा भौतारिन्छन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले पछिल्लो समय जलवायु परिवर्तन, डढेलो र आहाराको अभावका कारण हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको अनुमानसहित क्यामेरा जडान लगायतका कार्यहरू गरिएको बताउनुभयो । जङ्गली जनावरले पशुचौपायामा क्षति पुर्याएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिकाका आधारमाप्रति भेडाच्याङ्ग्रा १० हजार पाउने एक्यापले जनाएको छ ।
जाडोयाममा पशुचौपाया जोगाउनै मुस्किल हुने भएपछि एक्यापले मुस्ताङमा अनलाइन क्यामेरा समेत जडान गरी सम्भावित जोखिम क्षेत्रमा निगरानी गर्ने गर्छ । पछिल्लो समय मुस्ताङका बस्तीमा प्रवेश गरी पशुचौपायालाई क्षती पुर्याएर दुःख दिन थालेको भन्दै स्थानीय कृषकले गोठ सुधारको माग गर्ने गरेका छन् । सुधारिएको गोठमा भन्दा पूराना गोठमा चितुवाबाट धेरै क्षती हुने गरेको छ । मुस्ताङको ५ वटै स्थानीय तहमा वर्षेनी चितुवाले पशुचौपाायामा क्षती पु¥याएबापत राहत वितरण गर्ने गरिन्छ ।