लीलाधर वली
घोराही, मङ्सिर २७ गते । दाङको घोराही–तुलसीपुर सडकखण्डको सीमाभित्र पर्ने सडक खाली गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । निर्माण तथा स्तरोन्नती कार्यमा अवरोध सिर्जना भएको भन्दै सडक डिभिजन दाङले सडक सीमाभित्र रहेका संरचना तथा सामग्री हटाउन सार्वजनिक सूचना जारी गरेको हो ।
सडक डिभिजन दाङका प्रमुख दिपेन्द्र विष्टका अनुसार सडकखण्डमा निर्माण कार्य अघि बढाइरहँदा सडक निर्माण क्षेत्रभित्र सवारी साधन पार्किङ गर्ने, व्यापारिक मालसामान राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माणले सडक विस्तार कार्यले प्रभावित भएको छ ।
सूचनामा सडकको केन्द्र रेखादेखि दायाँबायाँ १५/१५ मिटर क्षेत्रभित्र पर्ने सम्पूर्ण सामग्री तथा संरचना १५ दिनभित्र हटाउन आग्रह गरिएको छ । तोकिएको समयसीमाभित्र सडक सीमा खाली नगरिए सडक डिभिजन कार्यालयले उक्त संरचना हटाउन बाध्य हुने कार्यालय प्रमुख विष्टले जानकारी दिनुभएको छ ।
घोराही–तुलसीपुर चारलेन सडक विस्तारअन्तर्गत घोराही उपमहानगरपालिका–१५ डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवासम्मको साढे २१ किलोमिटर सडक खण्डमा निर्माण गरिएको विभिन्न संरचनासँगै नौ सय ९३ विद्युत् पोल र एक सय १६ वटा रुख समेत हटाउनुपर्ने छ । घोराही–तुलसीपुर सडक निर्माणको काम सडक निर्माणको जिम्मा पाएको दिवा/वन्दना भगवती जेभीले घोराही सडकखण्डअन्तर्गत गुर्जेखोलादेखि हापुरखोलासम्म पहिलो चरणमा काम गरिरहेको छ ।
२०८२ असार २४ गते भएको ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म विस्तारको काम सक्नुपर्ने छ । दुई अर्ब ५३ करोडमा भएको ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले काम अघि बढाएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।