लक्ष्मी तिमिल्सेना
जमुनाह, मङ्सिर २७ गते । नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका छन् । ‘सङ्घीय नमुना युवा संसद् अभ्यास तथा प्रशिक्षण कार्यक्रम’ मार्फत नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका हुन् । युवालाई संसदीय प्रक्रिया र नीति निर्माणबारे प्रत्यक्ष अनुभव दिन उक्त कार्यक्रमको आयोजना गरिएको नेपालगन्ज उपमहानगरपालिकास्तरीय युवा क्लब सञ्जालका सचिव सालिया हासमीले जानकारी दिनुभयो ।
गत मङ्सिर २३ देखि २५ गतेसम्म तीन दिन चलेको कार्यक्रममा सहभागीले सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई संसदीय मर्यादा, विधेयक निर्माण, प्रश्नोत्तर, सञ्चालन र सार्वजनिक बहसका लागि विस्तृत प्रशिक्षणसमेत प्रदान गरिएको प्रशिक्षक साहिल अन्सारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको भावी नेतृत्व युवाको हातमा छ । यस्ता प्रशिक्षणले उनीहरूलाई जिम्मेवार र जानकार नीति निर्माता बन्ने आधार तयार गर्छ ।”
नमुना अभ्यास सत्रका दौरानमा युवाले सरकार, विपक्षी दल र सदनका महत्वपूर्ण पदाधिकारीको भूमिका निर्वाह गरेर नमुना सदनको कारबाहीलाई कुशलतापूर्वक सञ्चालन गरेका थिए ।
युवा सांसदले जलवायु परिवर्तन, गुणस्तरीय शिक्षा र युवा रोजगारी जस्ता राष्ट्रिय चासोका विषयमाथि गहन बहस गरे । उनीहरूले सरकारद्वारा प्रस्तुत गरिएका काल्पनिक विधेयकमाथि कडा प्रश्नउत्तर गर्दै प्रतिपक्षको भूमिका निर्वाह गरे । सहभागीले मर्यादित रूपमा आफ्ना तर्क प्रस्तुत गर्ने र सदनको नियम पालना गर्ने अभ्यास गरेका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य युवामा समीक्षात्मक सोच, बोल्ने कला, सहनशीलता र लोकतान्त्रिक संस्कार विकास गर्नुथियो । नमुना अभ्यासमा सहभागी युवा सङ्गीता विकले अनुभव बाँड्दै भन्नुभयो, “संसद् अभ्यास गर्दा एउटा नीति बनाउन वा विधेयक पारित गर्न कति धेरै प्रक्रिया र बहसबाट गुज्रनुपर्दो रहेछ भन्ने कुराको बोध भयो । यो अभ्यासले हामीलाई भोट हाल्ने मात्र होइन, देशको राजनीतिक प्रक्रिया बुझ्ने नागरिक बन्न प्रेरित गरेको छ ।”
सङ्घीय नमुना युवा संसद् अभ्यास तथा प्रशिक्षण कार्यक्रमले आफू जस्ता युवालाई नेतृत्वको भूमिकामा अगाडि बढाउन र देशको भविष्यका लागि आवश्यक जनशक्ति तयार पार्न महìवपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । ‘युवाको हातमा नेतृत्व समृद्ध नेपालको सुनिश्चितता’ भन्ने मूल नाराका साथ विभिन्न सामाजिक संस्थासहित नेपालगन्ज उपमहानगरको सहयोगमा नगरस्तरीय युवा क्लबले आयोजना गरेको थियो ।