• २६ मङ्सिर २०८२, शुक्रबार

युएईको श्रमिक भिसा सहज

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर २६ गते । नेपालीको प्रमुख श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) ले श्रमिक भिसा प्रक्रिया खुकुलो बनाएको छ । नेपालमा पछिल्लो समयमा देशमा शान्तिसुरक्षा ठिक भइसकेको र देश निर्वाचनमय भएको सन्देश प्रवाह भएपछि युएई सरकारले नेपालीका लागि श्रमिक भिसामा खुकुलो गर्न थालेको हो । 

जेनजी आन्दोलनपछि नेपालमा बढ्दै गएको असुरक्षाले आफ्नो देशमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै युएईले भ्रमण भिसा औपचारिक रूपमा नेपाललाई दिँदै आएको भिसा सुविधा रोकेको थियो । सुरुमा भ्रमण भिसामा रोक लगाएको युएईले पछि कामदार भिसा पनि अनौपचारिक रूपमा रोकेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष रोहन गुरुङले नेपाल सरकारको अनुरोधपछि युएई सरकारले श्रमिकलगायत अन्य भिसामा लचकता देखाएको बताउनुभयो । उहाँका अनुसार जेनजी आन्दोलनलाई देखाएर भिसा प्रक्रिया बन्द भएपछि सरकारले भिसा प्रक्रियालाई सहज गर्न सक्रियता देखाएको थियो ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार नेपालीका लागि युएई भिसामा अहिले समस्या छैन । अन्य श्रम गन्तव्यले समेत अनौपचारिक रूपमा नेपाललाई दिने भिसामा लचकता देखाउन थालेका छन् । नेपालबाट श्रम स्वीकृति लिएर दैनिक औसत ७५२ नेपाली युएई जाने गरेको गत वर्षको तथ्याङ्कले देखाउँछ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालबाट सबैभन्दा बढी नेपाली रोजगारीका लागि युएई पुग्छन् ।

युएईले नेपालीका लागि भ्रमण तथा श्रमिक भिसा बन्द गरेसँगै त्यसको प्रत्यक्ष असर म्यानपावर व्यवसायी र बेरोजगार युवामा परेको थियो । त्यसै गरी सो क्षेत्रबाट आउने विप्रेषणमा पनि असर पर्ने अवस्था थियो । भिसामा कडाइ हुनुअघि मासिक २२ हजारभन्दा बढी श्रमिक युएई गइरहेका थिए । आर्थिक वर्ष २०७७/७८ मा ४० हजार ४७७, आव २०७८/७९ एक लाख २२ हजार, आव २०७९/८० मा एक लाख १६ हजार, आव २०८०/८१ मा एक लाख ९३ हजार र आव २०८१/८२ मा दुई लाख ७४ हजारले रोजगारीका लागि युएई जान श्रम स्वीकृति लिएको तथ्याङ्क छ ।

चालु आवको पहिलो चार महिना (साउनदेखि कात्तिक) मा ८० हजार ९०१ जनाले युएईमा रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । श्रमिक भिसामा युएई जानेमध्ये करिब ९० प्रतिशत संस्थागत प्रक्रियाबाटै जाने गरेका छन् ।