चीन, बेइजिङ, मङ्सिर १९ गते । चीनले सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजनामा हरित र स्वच्छ ऊर्जातर्फको रूपान्तरण इतिहासकै सबैभन्दा तीव्र गतिमा अघि बढाएको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) का प्रमुख वाङ होङझीले बताउनुभएको छ ।
यस अवधिमा चीनको कुल विद्युत खपतको झन्डै एक तिहाइ हिस्सा हरित ऊर्जाबाट पूरा भएको छ । हावा, घाम र जैविक स्रोतबाट उत्पादित नवीकरणीय ऊर्जालाई हरित ऊर्जा मानिन्छ । चीनले दिगो ऊर्जाको उत्पादन र आपूर्ति तीव्ररूपमा बढाउँदै विश्वकै सबैभन्दा ठूलो र तीव्र वृद्धि भइरहेको नवीकरणीय ऊर्जा प्रणाली निर्माण गरेको छ ।
सन् २०२१ देखि सन् २०२५ सम्म नवीकरणीय स्रोतको जडान क्षमता ४० प्रतिशतबाट करिब ६० प्रतिशत पुगेको छ, जहाँ हावा र सौर्य ऊर्जा प्रमुख आधार बनेका छन् । एनइएका नवीकरणीय ऊर्जा विभागका निर्देशक ली च्वाङ्जुनका अनुसार, चीनमा हावा र सौर्य ऊर्जा उत्पादन क्षमता सन् २०२० बाट बढेर सन् २०२५ को जुलाईसम्म वार्षिक औसत वृद्धि २८ प्रतिशतले बढेको छ ।
कुल विद्युत खपतमा हावा तथा सौर्य ऊर्जाको हिस्सा सन् २०२० मा ९.७ प्रतिशतबाट २०२४ मा १८.६ प्रतिशत पुगेको छ, जसमा हरेक वर्ष दुई प्रतिशत बिन्दुभन्दा बढी वृद्धि भएको छ । उक्त अवधिमा चीन नयाँ ऊर्जा तथा प्रविधि उत्पादनमा वैश्विक अग्रणी बनेको छ, जसमा ऊर्जा-सम्बन्धी पेटेन्टले विश्व बजारको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
यस वर्षको पहिलो छ महिनासम्म चीनको नयाँ प्रकारको ऊर्जा भण्डारण क्षमता करिब ९५ लाख किलोवाट पुगेको छ, जुन पाँच वर्षमा ३० गुणा वृद्धि हो, र विश्वकै सबैभन्दा ठूलो स्तरमा पुगिएको छ । सन् २०२४ मा चीनको हाइड्रोजन उत्पादन तथा खपत ३६ लाख टनभन्दा बढी भएको छ, जसमा नवीकरणीय स्रोतबाट उत्पादन भएको हाइड्रोजन विश्व कुल उत्पादनको आधाभन्दा बढी छ ।
१५औँ पञ्चवर्षीय योजना (सन् २०२६-२०३०) तर्फ अघि बढ्दै, चीन बिजुली परिषदका कार्यकारी उपाध्यक्ष याङ कुनका अनुसार नयाँ तथा विद्यमान नवीकरणीय ऊर्जा परियोजनाको प्रभावकारी उपयोगमा ध्यान दिनु पर्ने छ । साथै, हरित हाइड्रोजन, नवीकरणीय ताप सेवा र अन्य ऊर्जा-सम्बन्धी बहुउपयोगी क्षेत्रमा विस्तार आवश्यक रहेको उहाँले बताउनुभयो । रासस/सिन्ह्वा