मोरङ, मङ्सिर १२ गते । यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो ।
विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिनुभयो ।
उहाँले कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्रायल’ परीक्षा सुरु गरेको बताउनुभयो । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन ।
कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्रही आउने गरेका छन् । कार्यालयले हप्तामा तीनपटक सवारीचालक अनुमतिपत्रका लागि परीक्षा लिँदै आएको छ ।
कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारीचालक अनुमतिपत्र उपलब्ध गराउँदै आइरहेको छ । विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।