• १२ मंसिर २०८२, शुक्रबार

देवचुलीलाई पोषणमैत्री पालिका बनाइने

blog

ज्ञानु पंगेनी 
मध्यविन्दु, मङ्सिर १२ गते ।
नवलपुरको देवचुली नगरपालिकालाई पोषणमैत्री नगरपालिका बनाउने कार्यको थालनी गरिएको छ । देवचुली नगरपालिका देशकै दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री पालिका समेत हो । अब यस पालिकालाई पोषणमैत्री पालिका घोषणा गर्नेगरी काम अगाडि बढाइएको छ ।

जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, देवचुली नगरपालिकाको समन्वय तथा क्यानालनको सहयोगमा पोषणामैत्री स्थानीय शासन लागू गर्नका लागि यहाँ ‘न्यूटिलर्न परियोजना’ सञ्चालन गरिएको छ ।

पोषणको क्षेत्रमा प्रत्यक्ष संलग्न भएर काम गर्ने सरोकारवालाहरूको माध्यमबाट समुदायमा पोषणसम्बन्धी सचेतना जगाउने र पोषणयुक्त आहार सेवन गर्ने वातावरण बनाउन दिवा खाजा, करेसावारी निर्माण, पशुजन्य उत्पादनमा आयआर्जनमुखी कार्यसँगै स्वास्थ्य र सरसफाईलाई समेत जोड दिने गरी परियोजना तयार पारिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिनुभयो । विषेश गरी महिला स्वास्थ्य स्वयमसेविकाको माध्यमबाट पालिकाको सबै टोलटोलमा पोषणसम्बन्धी जानकारी पुर्याउने र सन्तुलित आहार सेवनमा जोेड दिने गरी परियोजनाले काम गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

जसका लागि पालिकाको नौ वटा विद्यालयमा कक्षा ६ देखि आठसम्मका बालबालिकाका लागि परियोजनाले दिवा खाजामा सहयोग गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी पालिकाको पहाडी क्षेत्रमा पर्ने कृतिपुर, बन्दीपुर, बाह्रकोल लगायतका बस्तिहरुमा उन्नत जातका बाख्रा प्रदान गर्ने कार्य संगै करेसाबारी प्रबर्धानका कार्यक्रम पनि समावेश गरिएको उहाँले बताउनुभयो ।

परियोजनाकी कार्यक्रम संयोजक रीता थापाका अनुसार यो कार्यक्रमले समुदाय, सरकार र स्थानीय संघसंस्थाहरुको सहभागितामा बालबालिकाको पोषणा र शिक्षा प्रबर्धनमा सहयोग गर्नेछ । दुई वर्षसम्म चल्ने यस परियोनाबाट स्वस्थ्य खानपानको बानी विकास गरी सांस्कृतिक खानाविविधता तथा स्थानीय, प्रदेश र सङ्घीय स्तरमा बालपोषणलाई प्राथमिकता दिने नीतिगत परिवर्तनहरु प्रदान गर्ने, स्वास्थ्य पोषण अभ्यासहरुको पैरवी र कार्यान्वय गर्न सरोकारवालाहरुलाई तालिम दिएर समुदायको क्षमता विकास गर्ने, मिडिया अभियानहरु र सरोकारवालाको संलग्नतामार्फत बाल पोषण र शिक्षा चेतना अभिवृद्धि गर्दै सहभागिता बढाउने र स्थानीय नेतृत्वलाई सशक्त बनाई दीर्घकालीन परियोजना प्रभावका लागि सहकार्यपूर्ण साझेदारीलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको थापाले बताउनुभयो ।

जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सरकारले लिएको दीगो विकास लक्ष्यलाई सफल बनाउनका लागि पनि यस कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । सरकारले सन् २०३० सम्म नेपाललाई कुपोषण मुक्त बनाउने गरी सञ्चालन गरेको बहु क्षेत्रीय पोषण कार्यक्रमलाई यसले टेवा पुर्याउने बताउनुभयो ।

पोषण भनेपछि आम नागरिकमा दुई वर्ष मुनिका बालबालिका लाई मात्रै आवश्यक हुन्छ भन्ने बुझाइ रहेको र त्यस बुझाइलाई चिर्दै पोषण सबैका लागि आवश्यक छ, तर विशेष गरी महिला र किशोरकिशोरीका लागि पनि उत्तिकै आवश्यक छ भन्ने कुरा समेत यस कार्यक्रममार्फत समुदायमा बुझाउने शर्माले बताउनुभयो ।

कार्यक्रम सफल बनाउन बहु क्षेत्रीय पोषण कार्यक्रममा समावेश सात क्षेत्रहरू शासकीय प्रबन्ध क्षेत्र, महिला बालबालिका क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि विकास क्षेत्र, पशुपंक्षि विकास क्षेत्र र खानेपानी तथा सरसफाइ क्षेत्रका सम्बन्धित व्यक्तिहरू र प्रतेक वडाका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई बाल पोषणसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको छ ।  उनीहरुकै माध्यमबाट समुदायमा पोषणसम्बन्धी काम गरने छ ।