• १२ मंसिर २०८२, शुक्रबार

तीन सय वर्ष पुरानो मौलिक घरको संरक्षण

blog

तीन सय वर्ष पुरानो मौलिक घर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, मङ्सिर १२ गते ।
म्याग्दीको मङ्गला गाउँपालिका–२,सिममा करिब तीन सय वर्ष पुरानो मौलिक घरहरुको संरक्षण गरिएको छ । स्थानीयवासी ध्रुवकुमार खत्रीले आफ्नो पुर्खाले मल्लकालीन वास्तुकला अनुसार निर्माण गरेका घरहरु संरक्षण गरेर राख्नुभएको हो ।

घरमा सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडाल समेत छन् । घरहरुमा आँखीझ्याल र फलाँटे ढोका छन् । तत्कालीन समयमा बागलुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबाट बिर्ता स्वरुप सिम गाउँ पाएका र उहाँले नै उक्त घर निर्माण गरेको खत्रीले बताउनुभयो ।

उक्त गाउँ कँडेलका सन्ततिले वि.सं. १९७४ मा आफ्नो बाजे लप्टन कोमलसिंह खत्रीलाई बिक्री गरेका र त्यसयता क्रमशः रामबहादुर खत्री र कृष्णबहादुर खत्रीका सन्ततीहरु बसोबास गर्दै आएको उहाँले बताउनुभयो । हाल बसोबास गर्नुहुने ध्रुव कोमलसिंहका पनाती हुनुहुन्छ ।

यहाँ रहेका तीनवटा घरहरु मध्य ‘बूढोघर नाम दिइएको तीन तले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको खत्रीले बताउनुभयो । पुर्खाहरुले बनाएको मौलिक घरहरु हाम्रो पहिचान भएकाले संरक्षण गरेर राखेको खत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हाम्रो दाजुभाईहरु पनि अहिले काठमाडौँमा बसोबास गर्नुहुन्छ । यहाँ हाम्रो परिवार मात्र बसोबास गरेका छौं । सबै घरहरुको संरक्षण र रेखदेख मैले नै गरेको छु । पुरानो घरहरुलाई संरक्षण गरेर भविष्यमा होमस्टे बनाउने उद्देश्य छ ।’’