नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर ११ गते । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ४० जना आंकक्षी देखिनुभएको छ । लमजुङबाट महाधिवेशन प्रतिनिधि १० जना मात्र सहभागी हुन पाउने भए पनि ४० जनाले उम्मेदवारी दर्ता गराउनुभएको कार्यालय सचिव सरोज विश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार, ४ जना खुला, ३ जना महिला समावेशी, २ जना दलित र १ जना युवा प्रतिनिधि गरी १० जना छनोट हुनुपर्नेमा ४० जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गर्नुभएको हो । प्रतिनिधि छनौट निर्वाचन कमिटीका संयोजक राजेन्द्र बोहोराका अनुसार खुलामा २१ जना, महिला समावेशीमा १० जना, दलितमा ५ जना र युवामा ४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महाधिवेशन प्रतिनिधि छनोट गर्न मङ्सिर १३ गते शनिबार निर्वाचन गर्ने कार्यतालिका छ । बिहीबार दावी विरोध र सहमतिका लागि प्रयास गर्ने र नभए निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरिएको निर्वाचन कमिटिले जनाएको छ ।
लमजुङबाट केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टीका केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी, केन्द्रीय सदस्य कल्पना थापा, केन्द्रीय अनुशासन समितिका सदस्य मायानाथ अधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
यसैगरी लमजुङ भूगोल रहनुभएका गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे प्रतिनिधि बन्दै हुनुहुन्छ । लमजुङबाट छानिनुपर्ने १० जना प्रतिनिधिमा सकेसम्म सर्वसम्मत छनोट गर्ने, त्यसो हुन नसकेमा सङ्गठित सदस्यबाट मतदानमार्फत छनोट गरिने नेकपा (एमाले) लमजुङका अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो ।