• ६ मंसिर २०८२, शनिबार

न्यायका योद्धा नै आफ्नै दाजुको काजकिरियामा

blog

बेपत्ता दाजुको अन्तिम संस्कार गर्नुहुँदै द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरी ।

यज्ञप्रसाद सापकोटा 

गुलरिया (बर्दिया), मङ्सिर ६ गते । बेपत्ता नागरिकका परिवारलाई न्याय दिलाउन २०६० सालदेखि सङ्घर्ष गर्दै आएका द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरी आफ्नै दाजुको कुशको शव लिएर अन्त्येष्टि स्थलमा उभिनु प-यो । शान्ति प्रक्रियामा बेपत्ताको अवस्था सार्वजनिक गराउन लगातार आवाज उठाएका उहाँ अन्तिम क्षणमा आफ्नै परिवारका लागि न्यायको प्रतीक बनेको कुशको शरीर बोकेर नदी किनार पुग्नुभयो । 

भागिरामका दाजुभाउजू, चैतेलाल चौधरी र सीताजानकी चौधरीलगायतका व्यक्ति सशस्त्र द्वन्द्वको अवधिमा बेपत्ता भएका थिए । २३ वर्ष बितिसक्दा पनि राज्यले उहाँहरूबारे सत्यतथ्य नखोल्दा घरपरिवारले थाकेको महसुस गरेका छन् । यो घटना प्रतिनिधिमूलक मात्र हो । यस्ता पीडाका कथा बर्दियामा दर्जनौँ छन् । बर्सौंदेखि राज्यका तर्फबाट जवाफको प्रतीक्षा गर्दै बसेका परिवार धैर्यको सिमाना टुटाउन बाध्य हुन थालेका छन् । कतिपयले समाजको दबाबले, कतिपयले परिवारभित्रै उब्जिने आशङ्काले गोप्य रूपमा अन्तिम संस्कार सम्पन्न गरिसकेका छन् । दसकौँदेखि न्यायका लागि लडिरहेका स्वयम् अभियन्ताहरू पनि अब बाध्यतावश काजकिरियामा उभिन थालेका छन् ।

राजापुर नगरपालिका–६ का सुजन थारू पनि यस्तै बाध्यताको पात्र बन्नुभयो । २३ वर्षदेखि बेपत्ता उहाँका बुवा राजकुमार थारूको कुशको शव बनाएर केही महिनाअघि नै दाहसंस्कार गरिएको छ । राजकुमारकी श्रीमती हिराकुमारी थारू अहिले पनि आफ्ना श्रीमान् सकुशल फर्किनुहुन्छ भन्ने आसमा हुनुहुन्छ तर समाजले उहाँको सिउँदो पुछिदियो । उहाँ भन्नुहुन्छ, “सत्यतथ्य नखुलेसम्म काजकिरिया गर्ने मन थिएन तर मनले अझै भन्छ, मेरा पति घर फर्केर आउन सक्नुहुन्छ ।”

बर्दियामा मात्र ५० भन्दा बढी बेपत्ताका परिवारले आफन्तको अन्तिम संस्कार गरिसकेका छन् । द्वन्द्वपीडित समितिका कार्यक्रम संयोजक मानबहादुर चौधरीले भन्नुभयो, “अन्त्येष्टि गर्नु उनीहरूको सांस्कृतिक अधिकार हो तर मृत्यु दर्ता नगरेर उनीहरूले अझै सत्यको खोज जारी रहेको सन्देश दिएका छन् ।” बेपत्ता छानबिन आयोगका अनुसार देशभर दुई हजार ६४० जना बेपत्ताका उजुरी दर्ता छन् । तीमध्ये सबैभन्दा धेरै २६१ वटा बर्दियाबाट मात्र छन् ।

नदी किनारमै भागिराम चौधरीले दाजुभाउजूका लागि दीप बाल्दै भन्नुभयो, “हामीले न्याय पाउने छौँ भन्ने आस मर्दै गएको छ तर पनि न्यायका लागि बाटो कुरेर बस्नुको अर्काे विकल्प छैन । कुशको शव बनाएर अन्त्येष्टि गरे पनि परिवारको मन बुझाउन सकिएको छैन । बेपत्ता भएका आफन्त कुनै दिन फर्केर आउलान् भन्ने झिनो आशा जीवित छ ।”