• ६ मंसिर २०८२, शनिबार

मुग्लिङ–मलेखु सडक पैँतिस प्रतिशत काम सम्पन्न

blog

मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रे गरिँदै ।तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, मङ्सिर ६ गते  । तीन वर्षमा सम्पन्न गर्नुपर्ने मुग्लिङ–मलेखु सडकको स्तरोन्नतिको काम अहिलेसम्म ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको यो सडकको म्याद आगामी पुस १५ मा सकिँदै छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिङ–मलेखु सडक कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रले म्याद थपको प्रव्रिmया अगाडि बढेको जानकारी दिनुभयो । डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने व्यवस्था रहेको छ । 

वर्षा र चाडपर्वका कारण असारदेखि तिहारसम्म सडक विस्तारको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि निर्माणका कामले तीव्रता पाएको उहाँले दाबी गर्नुभयो । यस सडकखण्डमा निर्माण पूरा भएका चार वटा नयाँ पुललाई सडकसँग जोड्ने काम सुरु गरिएको छ । पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम भइराखेको छ । यस सडकखण्डमा अन्य दुई पुलमध्ये चरौदीखोलाको पुलको एउटा फाउन्डेसन हालिएको छ । अर्कोतर्फको काम गरिँदै छ भने हुग्दीखोलाको पुलको दुवै फाउन्डेसन तयार भइसकेको छ । म्याद थपको सुविधा पाएपछि दुवै पुलको काम तोकिएको समयमा निर्माण सम्पन्न हुने तयारी भएको उहाँले जानकारी दिनुभयो । 

पुसमा सकिने म्याद थपेर काम अगाडि बढेपछि चालु आर्थिक वर्षभित्रै बाँकी निर्माण रहेको पुलको काम सकेर वर्षाअगाडि नै नयाँ पुलबाट सवारीसाधन सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । अब थपिने म्याद एक वर्षको हुने छ । म्याद थप भएर आएपछि २०८३ पुसमा सबै काम सम्पन्न गर्ने तयारी भएको कार्यालयले जानकारी दिएको छ । 

३८ किलोमिटरमध्ये असार मसान्तसम्म १० किलोमिटर कालोपत्रे भएको यस सडकखण्डमा अहिले थप १५ किलोमिटरमा कालोपत्रे गर्नका लागि तयारी गरिँदै छ । पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम भइराखेको छ भने बाँकी केही हप्ताभित्र काम हुने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । 

यो कामका लागि ठेकेदार कम्पनीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । 

कृष्णभिरको समस्या 

वर्षाका कारण रोकिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर सडक भासिने समस्या स्थायी समाधानको काम सुरु भएको छ । विज्ञले गरेको अध्ययनपछि जेठबाट माइव्रmो पायलिङ विधिबाट सडक भासिने समस्या स्थायी रूपमा समाधान गर्ने काम सुरु भएको थियो । असारमा सम्पन्न गर्ने भनिए पनि वर्षाका कारण नसकिएपछि अहिले पुनः काम थालिएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।

२०५७ साल साउनको पहिलो हप्ता पहिरो कृष्णभिरमा आएपछि सडक बगाएर लगेको थियो । पहिरो पन्छाएर दुई हप्तापछि अस्थायी रूपमा सवारीसाधन सञ्चालन गर्न मिल्ने निर्माण गरिएको थियो । त्यही अस्थायी स्थानमा नै कालोपत्रे गरेर अहिलेसम्म यातायात सञ्चालन हुँदै आएको छ । गत वर्षको बर्सातका कारण पहिरो गएका मुख्य स्थानमा सडक भासिएको थियो ।