• ८ पुस २०८२, मङ्गलबार

अर्धयान्त्रिकीकरणले थप समस्या

blog

हार्भेस्टरले मोरङमा धान काट्दै चितवनका विनोद चौधरी । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर ४ गते । कृषिक्षेत्रमा भित्रिएको अर्धयान्त्रिकीकरणले किसान थप समस्यामा परेका छन् । सघन रूपमा धान खेती हुने दक्षिणी मोरङका रतुवामाई, सुनबर्सी, रङ्गेली नगरपालिका र कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिका क्षेत्रका कृषिमा आश्रित कृषि मजदुर यन्त्रले काम खोसेपछि भारत पलायन भएका छन् । 

वर्षभरि कृषि मजदुरी गरेर घर चलाउने सन्थाल, ऋषिदेव, बाँतर, उराँव जातिका युवा गाउँमा बस्न छोडेका छन् । वर्षभरि कृषि मजदुरी गर्न नपाउने भएपछि उनीहरू भारतको पञ्जाव र हरियाणा जाने गरेका हुन् ।

यसका अतिरिक्त गाउँघरले दुई/चार पैसा ऋण पत्याउनेहरू साउदी, कतार, मलेसिया गएका छन्, जसले गर्दा गाउँमा धान काट्ने कृषि मजदुर छैनन् । यतिबेला दक्षिणी मोरङका किसान हार्भेस्टर लगाएर धान काट्न पालो कुरिरहेका छन् । 

कुनै समय चार/पाँच हल गोरु पालेर खेती गर्ने किसान अहिले ट्याक्टरले जोत्छन् । ट्याक्टरमा रोप्ने प्रविधि र धान काट्ने प्रविधि जडान गर्न असहज भएको किसानको भनाइ छ । 

कृषिमा खेत जोत्ने प्रविधि आयो तर रोप्ने प्रविधि अझै पनि सर्वसुलभ छैन । आकासे पानीको भरमा धान रोप्ने किसानका लागि धान रोप्ने प्रविधि झनै असफल भयो । हार्भेस्टरले काटेको धान सिधै भण्डारण हुन्छ तर पराल उठाउने प्रविधि यसमा छैन । पशुपालनसँग जोडिएका किसानलाई पराल नभई हुँदैन । किसान पराल उठाउने मजदुर र नपाएकै कारण खेतमै पराल डढाएर नयाँ बाली लगाउने तयारीमा छन् । 

धान काट्ने समयमा कृषि मजदुर नहुँदा कानेपोखरी, सुनबर्सी, रङ्गेली र रतुवामाईका किसान हार्भेस्टर (धान काट्ने ठुलो यन्त्र) कुरेर बसेका छन् । मोरङको कानेपोखरी–३ मा दुई वटा हार्भेस्टर लिएर आएका चितवन टाँडीका विनोद चौधरी पालो लगाउँदै धान काटिरहनुभएको छ । प्रतिघण्टा सात हजार रुपियाँका दरले किसानको धान काटिरहेका चौधरीले भन्नुभयो, “किसानलाई तोरी लगाउन ढिलो भइसक्यो । यस वर्ष कात्तिक १४ सम्म पानी परेकाले सबै खेतमा हार्भेस्टर छिर्न सक्ने अवस्था छैन । धान पाकिसक्योे, खेतको पानी सुकेकै छैन ।”

स्थानीय हेमचन्द्र भण्डारीले बोलाएर धान कटाउन थालेपछि चौधरी कानेपोखरी–३ बाट उम्किन पाउनुभएको छैन । छ दिन पालो कुरेर बसिरहेका मोहनप्रसाद पोख्रेलले मानवीय श्रमभन्दा सस्तो र छिटो हुने भए पनि धान खेतमै रहला भन्ने चिन्ता बढेको सुनाउनुभयो । 

अहिले पूरै गाउँका किसान धान काट्न पालो कुरिरहेका छन् । नवीन दाहालले भन्नुभयो, “सात दिनअघि पालो आउने छाँट छैन ।” 

एकातिर कृषिक्षेत्रका कामदार गाउँमा काम पाइँदैन भनेर भारत भइरहेका छन् । अर्कातर्फ धान भिœयाउने समयमा कामदार नपाएर सङ्कट हुने गरेको छ । 

पाँच बिघा खेतको धान काट्न हार्भेस्टर भित्र्याउने हेमचन्द्र भण्डारीले भन्नुभयो, “मैले मेरा लागि मेसिन बोलाएको थिएँ  तर उहाँले आफ्नो गाउँ (चितवन) का किसानको धान काटिदिन पाउनुभएन ।” दुई वटा मेसिन दिनभर चल्दा पनि अझै धान काटिसक्न आठ/१० दिन लाग्ने मेसिन सञ्चालक चौधरीको भनाइ छ । चौधरीका अनुसार एक बिघा धान काट्न मेसिनलाई एक घण्टा २० मिनेट लाग्छ । प्रतिघण्टा १२ लिटर डिजेलले खाने हार्भेस्टरले काटेको धान एकै पटक खमारमा लगेर राख्न मिल्ने हुन्छ । 

काट्ने, सुक्न दिने, पाँजा सोर्ने, बिटा लगाउने, खमारमा लाने, कुनिउ लगाउनेलगायतका कुनै पनि काम गर्नु नपर्ने भएकाले किसान हार्भेस्टर मेसिनप्रति आकर्षित भएका छन् ।  

रतुवामाई–५, परेवाखोपीका किसान लीलानाथ श्रेष्ठले भने सानो मेसिन प्रयोग गरेको बताउनुभयो ।