• ४ मंसिर २०८२, बिहिबार

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, मङ्सिर ४ गते।
गुल्मीमा ४८ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि यस जिल्लामा तयारी तीव्र रुपमा अगाडि बढेको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरका मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेको बताइएको छ ।

विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सञ्चार पहुँच, यातायातको पहुँच, पछिल्लो अपराधिक गतिविधि, दलहरु बिचको प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । यस जिल्लामा रहेका १४२ मतदानस्थलमध्ये ४८ मतदानस्थल अति संवेदनशील, ५७ मतदानस्थल संवेदनशील र ३७ मतदानस्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको छ ।

जिल्लामा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङगबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार काम गर्नका साथै सबैसँग समन्वय गरिएको उहाँले बताउनुभयो । मतदानस्थल पुनरावलोकनका लागि सर्वपक्षीय छलफल गरी मतदाताहरुको सहजताका लागि तीन मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ। जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले थप गर्न आवश्यक जिल्लाका मतदान स्थलको अनुगमन समेत गरेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।

उहाँका अनुसार गुल्मीदरबार गाउँपालिका–१ को बलिथुम नरहरि कँडेल मावि, सत्यवती गाउँपालिका–६ को वडा कार्यालय भवन र मुसिकोट नगरपालिका–१ को वडा सेवा केन्द्र भवन सिम्लेमा मतदानस्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । मुसिकोट नगपालिका–४ मा रहेको मुसिकोट मावि हलोगाडेबाट जनता आधारभूत विद्यालय आरुपाटामा आंशिक रुपमा (५१६ जना) मतदाता सार्नका लागि सिफारिस गरिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०७९ को निर्वाचनमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहनुभएको थियो । जसमा महिला एक लाख १४ हजार २१५, पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य मतदाता रहनुभएको थियो । यस जिल्लामा २७८ मतदान केन्द्र र दुई अस्थायी मतदान स्थल रहेका निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । 

नयाँ मतदाता २७ सय १८ जना थपिए 
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीमा २७ सय १८ जना नयाँ मतदाताले नाम दर्ता गराउनुभएको छ। जिल्ला निर्वाचन कार्यालय गुल्मीमा गत असोज १० गतेदेखि नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य तिब्र रुपमा भएको थियो । सूचना अधिकारी हर्क श्रीसका अनुसार यहाँबाट आन्तरिक मतदाता र बाह्य गरी सो सङ्ख्यामा मतदाताको नाम दर्ता गरिएको हो । महिला एक हजार ९७ र पुरुष एक हजार ५५२ जना गरी आन्तरिक मतदाता नयाँ दुई हजार ६४९ जना रहनुभएको छ ।

महिला ३१ र पुरुष ३८ जना गरी वाह्य मतदाता नयाँ ६९ जनाको नाम दर्ता गरिएको हो । यस जिल्लामा मतदान स्थल परिवर्तन (ठाउँ सारी) महिला ३९४ र पुरुष ३१६ गरी ७१० जना मतदाता, महिला ८१ पुरुष १२१ गरी २०२ जना मतदाताको त्रुटि सच्याइएको छ ।  फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्य यस जिल्लामा पनि तीव्र रुपमा भइरहेको थियो । यो कार्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको स्टेसनबाट भएको हो । नयाँ थपिएका मतदाता अधिकांश युवा पुस्ताका रहनुभएको छ ।

नयाँ दर्ता हुनुभएका अधिकांश मतदाताले आफै मोबाइल वा कम्प्युटरबाट फाराम भरेर कार्यालयमा बायोमेट्रिक गर्नुभएको थियो । पछिल्लो केहि दिन यता राष्ट्रिय परिचयपत्रबाट लिन्क गरेर समेत मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । यसबाट कति जनाले नाम दर्ता गर्नुभयो भन्ने अझै तथ्याङ्क आएको छैन । निर्वाचन आयोगले २०८२ कात्तिक १६ गते उपलब्ध गराएको मतदाताहरूको सङ्ख्यात्मक विवरण यस जिल्लाको दुई नगरपालिका र दस गाउँपालिकामा दुई लाख २३ हजार ८४७ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

इस्मामा १७ हजार ८२६, कालीगण्डकीमा १४ हजार ७९५, गुल्मीदरबारमा १९ हजार १४, चन्द्रकोटमा १६ हजार ३५, छत्रकोटमा १९ हजार ६३३, धुर्कोटमा १८ हजार ५२९, मदानेमा १६ हजार १८७, मालिकामा १७ हजार ५९८, मुसिकोटमा २४ हजार ४७५, रुरुक्षेत्रमा १६ हजार ६७३, रेसुङ्गामा २४ हजार ८२ र सत्यवतीमा १९ हजार मतदाता रहेको सङ्ख्यात्मक विवरण रहेको उहाँले बताउनुभयो ।